दूरसञ्चार कम्पनीहरुको आय पछिल्लो वर्षहरूमा घट्न थालेको छ। यो क्रम यो वर्ष पनि जारी रहेको छ।
सूचना प्रविधिमा भएको विकासले गर्दा सञ्चार क्षेत्रको आयमा गिरावट आइरहेको छ। यसले गर्दा सरकारले उठाउने राजस्वमा मुख्य भुमिका खेल्ने यो क्षेत्रको आय खस्कदैं गएको हो।
गएको २ वर्षदेखि टेलिकम कम्पनीहरुको आय बढ्न सकेको छैन। नेपालभर सबैतिर सेवाको पहुँच विस्तार नहुँदै टेलिकमको बजार साँघुरो हुन थालेपछि यसको असर दुईतिर देखिएको छ।
पहिलो असर लगानी गरिरहेकालाई परेको छ। दोश्रो असर सरकारी राजश्वमा परेको छ।
आन्तरिक राजश्व विभागका अनुसार चालु वर्षको पहिलो त्रैमासिकमा टेलिकम कम्पनीहरुको आय अघिल्लो वर्षको यही अवधिको तुलनामा ५ प्रतिशतले घटेको छ।
नेपाल टेलिकम र एनसेल दुबै कम्पनीको आय यो बीचमा घटेको छ। यी कम्पनीले वर्षभरमा बुझाउने कर ठूला करदाता कार्यालयले वर्षभर उठाउने करको १३ प्रतिशत हुन आउछ। यो वर्ष कार्यालयलाई २ खर्ब ३३ अर्ब उठाउने लक्ष्य दिइएको छ।
तर यिनै कम्पनीको आय ५ प्रतिशतले घट्दा लक्ष्यमा धक्का पुग्ने देखिएको छ।
नेपाल टेलिकमको आय अघिल्लो वर्षको तुलनामा यो वर्ष २५ करोडले घटेको छ भने एनसेलको ५४ करोडले घट्ने प्रक्षेपण गरिएको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले बताए।
कर कार्यालयका अनुसार भ्वाइस कल आम्दानी घट्दा टेलिकमहरुको आम्दानीमा कमी आएको हो।
विदेशबाट आउने कलको आम्दानी घट्नुकासाथै स्वदेशभित्रै हुने कलको दस्तुर घट्दा उनीहरूको आम्दानी कम हुन गएको हो।
फोन गर्नेहरु इन्टरनेटमा आधारित एप्लिकेशनमा सिफ्ट भएका कारण टेलिकम कम्पनीहरुको आय गिरावट भएको कर कार्यालयको बुझाइ रहेको छ।
टेलिकम कम्पनीहरुले संस्थागत आयकर,मूल्यअभिबृद्धि कर तथा इन्टरनेट सेवाशुल्कको नाममा कर तिर्दै आएका छन्।
टेलिकम कम्पनीहरुले दिने भ्वाइस सेवाको तुलनामा डेटामा आधारित सेवा बढेको तर करको दायरामा त्यस्ता सेवा आइनसकेकाले राजश्वका दृष्टिले सरकारलाई तत्काल धेरै नोक्सानी हुने देखिएको हो।