सरकारी स्वामित्वको नेपाल टेलिकम ग्राहक तथा पूर्वाधार हिसाबले देशकै ठूलो दूरसञ्चार कम्पनी हो। टेलिकमले हालैमात्र देशका ७६ जिल्लामा फोरजी मोबाइल नेटवर्क विस्तार गरेको छ।
टेलिकमले यही आर्थिक वर्षभित्र देशभर ६५ लाख फोरजी लाइन र फाइबर विस्तार गर्ने, सूचना सुपर हाइवे बनाउने जस्ता महत्वाकांक्षी योजना अगाडि सारेको छ। पछिल्लो समय सक्रिय ग्राहक संख्या पनि बढाउँदै गएको कम्पनीको वर्तमान अवस्था, सेवा गुणस्तर तथा भावी योजनाका बारेमा सेतोपाटीले टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँग संक्षिप्त कुराकानी गरेको थियो।
सोही कुराकानीको सम्पादित अंश:
तपाईं नेपाल टेलिकमको व्यवस्थापकीय नेतृत्वमा आएको एक वर्ष भयो। तपाईं आएपछि नेपाल टेलिकमका ग्राहकले पहिले नभएका के नयाँ अनुभव गर्न पाए?
म व्यवस्थापकीय नेतृत्वमा आएपछि केही प्रतिबद्धता गरेको थिएँ। त्यसमा अहिले धेरै काम भइरहेका छन्।
सुपर फोरजी, फाइबर विस्तार, मध्यपहाडी राजमार्गमा फाइबर विस्तार गर्ने र सेवा नपुगेका ठाउँमा टावर विस्तार गर्ने र भएका ठाउँमा गुणस्तर बढाउने प्रतिबद्धता गरेको थिएँ। आम्दानी र नाफा बढाउने पनि मेरो प्रतिबद्धता थियो।
त्यसमा आजको दिनसम्म (मंगलबार) ७६ जिल्लामा फोरजी सेवा विस्तार भएको छ। यसमध्ये हिमाली र दुर्गम जिल्लाका भने सदरमुकाममा मात्र सीमित होला। ७६ जिल्लाका २५ सय बढी ठाउँमा टेलिकमले फोरजी नेटवर्क विस्तार गरेको छ। यो म आएपछि मात्र सुरू भएको थियो। केही दिनमै हामी ७७ जिल्लामै पुग्दैछौं।
सबै ठाउँमा फोरजी नेटवर्क कभरेजका लागि केही महिना लाग्छ। नयाँ नेटवर्क यति छिटै विस्तार गर्नु सानोतिनो कुरा होइन। यसअघि कहिल्यै कुनै पनि दूरसञ्चार सेवा नभएका दुर्गम ठाउँदेखि तराइको घना बस्ती भएको ठाउँमा हामीले सेवा विस्तार गरेका छौं।
हामीले करिब ६ सय नयाँ टावर राखेका छौं। त्यस्तै भएका टावरमा आवश्यकता अनुसार अपग्रेड गरेका छौं। यसबाट हाम्रा सक्रिय ग्राहक बढेका छन्।
लामो समयदेखि टेलिकमले करिब २ दशक पुरानो प्रविधिबाट इन्टरनेट दिइरहेको थियो। एडिएसएल इन्टरनेट असान्दर्भिक भइसकेको थियो। भ्वाइसको लागि मात्र भनेर डिजाइन गरिएको तामाको तारले अहिलेका हाइडेफिनेशन (एचडी) कन्टेन्ट सपोर्ट नगर्ने भइसकेको थियो। यसको विकल्पमा टेलिकमले फाइबर-टु-होम (एफटिटिएच) सेवा सुरू गरिसकेको थियो। तर यसको विस्तार यति सुस्त थियो, एक वर्षअघिसम्म यसका जम्मा ५ हजार ग्राहक थिए। तर गत एक वर्षमा यस्ता ग्राहक २० हजार थपिएका छन्।
हामीले एडिएसएललाई एफटिटिएचले विस्थापित गर्ने त्यसबाट ग्राहक मागअनुसारको उच्च गुणस्तरीय डेटा सपोर्ट गर्ने प्रविधिमात्र होइन, त्यसबाट भ्वाइस, इन्टरनेट, टिभी र भिडिओ स्ट्रिमिङ सेवा दिने योजना बनाएका छौं।
हामीले एफटिटिएच विस्तारका लागि अहिले कार्ययोजना बनाएका छौं। यसमा नेटवर्क डिजाइन, कार्यान्वयन र वितरणका स्पष्ट खाका तयार पारिसक्यौं। यो बीचमा हामीसँग एफटिटिएचको बिलिङ थिएन। त्यो बनायौं। योसँगै वितरण पनि गरिरहेका छौं।
मुख्य सहरमा एफटिटिएच विस्तार गर्नेगरी तत्काल ४ लाख लाइनको योजना हामीले तयार पारेका छौं।
सहरी क्षेत्रमात्र होइन, दुर्गम र पहाडी क्षेत्रमा पनि छिटो एफटिटिएच सेवा दिन विशेष तयारी गरिरहेका छौं। यसका लागि हामीले मिनी ओएलटी (अप्टिकल लाइन टर्मिनल जुन ल्यापटप आकारको हुन्छ। त्यसबाट ५१२ केबिपिएसम्म इन्टरनेट वितरण गर्न सकिन्छ) ल्याएर पहाडी तथा हिमाली क्षेत्रका साना पकेट क्षेत्रमा पनि सेवा दिनेगरी काम गरिरहेका छौं।
बजारमा निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायक छन्। जसको सेवा लिन मोबाइलको सिम लिएजस्तो मात्र प्रक्रिया छ। त्यसबाट निस्किन पनि उत्तिकै सजिलो छ। यस्तोमा टेलिकमको इन्टरनेट सेवा लिन ल्यान्डलाइन फोन लिनैपर्ने। त्यसका लागि आवासीय बासिन्दा हुनुपर्ने जस्ता बाध्यकारी नियम थिए। यो नियममा तपाईंहरूले केही सुधार गर्नुभएको छ?
हो, पहिले केही प्राविधिक कारणले त्यस्तो व्यवस्था थियो। त्यही कारण समस्या थियो। अहिले त्यस्तो नियम छैन। केही दिनअघिसम्मको डेटाअनुसार हाम्रो १ लाख ३० हजार लाइनको एफटिटिएच लाइन विस्तार भइसकेको छ। लाइन पुगेको ठाउँमा सहजै ग्राहकले हाम्रो सेवा लिनसक्नुहुन्छ।
सिम लिएजस्तै ग्राहक परिचय खुलाएपछि मज्जाले टेलिकमको गुणस्तरीय इन्टरनेट जडान गर्न सकिन्छ। यसमा प्याकेज लिने हो। प्याकेजको मूल्य तिर्ने हो। त्यसपछि छनौट र निस्किने स्वतन्त्रता अरूकै जति छ।
आम्दानी बढाउने पनि भन्नुभएको थियो। तर रिपोर्टले घटिरहेको देखाउँछ होइन?
अघिल्लो आर्थिक वर्षमा त्योभन्दा अघिल्लो वर्षको तुलनामा आम्दानी घटेको थियो। समग्रमा १ अर्ब ४३ करोड घटेको हो। तर हामीले नाफा घटेको अघिल्लो वर्ष जुन लगानी गरेका थियौं, त्यसको प्रतिफल यो वर्ष आउने हो। स्वाभाविक रुपमा नाफा घट्न पुग्यो गएको वर्ष।
तर यो वर्षको साउनदेखि पुससम्मको हिसाब हेर्दा अघिल्लो वर्षको तुलनामा आम्दानी चार प्रतिशत बढेको छ।
यो बीचमा हाम्रा सक्रिय ग्राहक बढेका छन्। त्यसको अनुपातमा आम्दानी बढ्न सकेको छैन। डेटा खपत दोब्बर बढेको छ। भ्वाइस पनि २५ प्रतिशत बढेको छ। तर भ्वाइसमा ग्राहकले नर्मलभन्दा प्याकेज कल गर्न थाले। अहिले आएका विभिन्न प्याकेज अफर लिन थालेपछि खपत त बढ्यो तर अनुपातिक हिसाबले आम्दानी बढेन।
यद्यपी हामीले अझै पनि बजारमा प्रतिस्पर्धा गर्नैपर्छ। अझै उत्पादनहरू ल्याउनैपर्छ। भर्खरै फोरजी ल्याएका छौं, परीक्षण हुँदैछ। पूरा भयो भने नेटवर्क निकै राम्रो हुन्छ। त्यसपछि खपत र आम्दानी पनि बढ्छ।
फोरजी वैशाखसम्म सक्ने भनिएको थियो। त्यसको प्रगति के छ ?
लाइभ नेटवर्क भएकाले यसमा केही होसियारी चाहिन्छ। त्यहाँ टुजी/थ्रीजी नेटवर्क पनि सँगै छ। रेडियो इन्टरफेरेन्स पनि हुनसक्छ। त्यसमा व्यवस्थापन गर्नुपर्छ। वैशाखसम्म सबै ठाउँमा जाने भन्ने हो। जिल्लाका हिसाबले त अहिले नै पुगिसक्यौं।
ग्राहकको मागअनुसार नयाँ ठाउँ पनि हुनसक्छन्। त्यो पछिको काम भयो। वैशाख-जेठसम्म हामी सक्छौं होला। अहिलेको गतिअनुसार काम भए छिट्टै हुन्छ।
फोरजी सबै जिल्लामा लिनुभयो। डेटा खपत बढेको होला। बढेको डेटा ट्राफिक कस्तो छ?
फोरजी रोलआउट भएपछि यसको खपत बढेको छ। तर हामी अझै परीक्षणकै क्रममा छौं। यसको अन्तिम चरणको मुख्य काम बाँकी छ। त्यो भएपछि विस्तृत परीक्षण गरेर ट्राफिकको अध्ययन गर्छौं।
गुणस्तरीय नेटवर्क नहुँदा बैंक तथा स्थानीय सरकारले काम गर्न नसकिरहेको गुनासो गरिरहेकाछन्। टेलिकमको नेटवर्कले त्यस्तो गुनासो सम्बोधन गर्ला?
अहिले हामीले ८ सय मेगाहर्जको जुन फोरजी भनेका छौं, यसको पेनिट्रेसन उच्च छ। यसले टाढासम्म पनि कभर गरेको छ। १८ सयको भन्न सक्दिँन, तर ८ सयको पहिलेको स्काइ जस्तै हो। यसले जहाँ पनि काम गर्छ। ८ सय मेगाहर्जमा चल्ने सिपिइ डिभाइस राखेर वित्तीय संस्था, स्थानीय सरकार तथा अन्य व्यावसायिक फर्महरूले आफ्नो काम गर्न सक्छन्।
टेलिकमले गएको वर्ष कति लगानी गर्यो?
ठ्याक्कै हिसाब त मसँग छैन, तर धेरै लगानी गरेका छौं। फोरजीका मात्र हामीले साढे ६ सय टावर बनाइरहेका छौं। त्योभन्दा अघि नै २ सय टावर बनायौं। त्यो हिसाबले हामीले पूर्वाधार, प्रसारण र पावरमा ठूलो लगानी गरेका छौं। यी लगानी दीर्घकालीन हुन्।
लगानी हिसाबले मुख्य परियोजना केके हुन्?
एउटा फाइबर-टु-होम हो, जुन एडिएसएललाई फाइबरले विस्थापित गर्ने र त्यसमा मूल्यअभिवृद्धि गर्ने हो। पहिले भ्वाइसमात्र जाने ठाउँमा इन्टरनेट, टिभी तथा भिडिओ स्ट्रमिङसम्म सेवा दिने हो।
अर्को भनेको सरकारको कार्यक्रम हो। नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार कोषबाट खर्च हुने सूचना प्रविधि राजमार्ग हो। हामीले प्रदेश १, २ र ३ मा पहिल्यैदेखि काम गरिरहेका छौं। त्यसमा पूर्वाधार बनाउने काम भइरहेको छ। पछिल्लो समय कर्णाली र सुदुरपश्चिमको पनि काम पाएका छौं। यसको टेन्डरको काम भइरहेको छ। सम्झौता भएको एक महिना भयो। अबको दुई महिनाभित्र टेन्डर भइसक्छ।
मुख्य र ठूलो परियोजना फोरजी विस्तार हो। यसको काम सम्पन्न हुने क्रममा छ। अर्को गुणस्तर सुधारका काम हुन्। कति ठाउँमा टावर प्रतिस्थापन तथा उचाइ मिलाउने, प्रसारण प्वाइन्ट अपग्रेडको काम गर्दैछौं। त्यस्तै मोबाइल फाइनान्सको काम पनि अघि बढाएका छौं जुन काम अन्तिम चरणमा छ।
विश्वव्यापी रुपमा अपरेटरहरू आर्थिक संकटमा छन्। यसका कारण अनेक होलान्। तर डिस्ट्रप्टिभ प्रविधिको कारण हो। यस्तो प्रविधि नेपालमा कसरी प्रकट भएको छ। तपाईंहरूले कसरी समस्या सामना गर्नुभएको छ?
हाम्रो परम्परागत आम्दानीको स्रोत भ्वाइस थियो। देशभित्र कल गर्दा र विदेशमा कल हुँदा आउने आम्दानी थियो। त्यो व्यापक घटेको छ। खपत बढे पनि आम्दानी बढेको छैन।
भ्वाइस घटेपछि ग्राहक इन्टरनेटमा गए। त्यहीअनुसार हामीले इन्टरनेट पनि दियौं। ग्राहकले इन्टरनेटको पैसा त तिरे तर त्यहाँ हिजोजस्तो टेलिकम मात्र थिएन। ग्राहकको खर्च बाँडियो। एकातिर फेसबुक, भाइबर, ह्वाट्सएपजस्ता ओटिटीले पनि आम्दानी गरे भने अर्कोतिर इन्टरनेट सेवा प्रदायकहरूले वाइफाइको नाममा वायरलेस इन्टरनेट दिए। ठूलो लगानी तथा जटिल संरचनामा भएका टेलिकमको आम्दानी तथा नाफामा धक्का लाग्यो।
अर्को कुरा इन्टरनेटमा अरू पनि आएर हामीलाई समस्या परेको होइन। उही वायरलेस डेटा टेलिकमले दिन्छन्। त्यस्तै डेटा इन्टरनेट सेवा प्रदायकले पनि दिन्छन्। संसारभरको ट्राफिक ४० प्रतिशत वाइफाइबाट छ भनिन्छ। तर कस्ट अफ डेटा इन्टरनेट सेवा प्रदायक र टेलिकमबीचमा ठूलो अन्तर छ।
नेपालकै कुरा गर्ने हो भने टेलिकमहरूले पाँच वर्षमा २० अर्ब नवीकरण शुल्कबापत तिर्छन्। अर्बौं खर्चिएर पूर्वाधार बनाउँछन्। तर करोडमा लाइसेन्स लिने र सानो पूर्वाधार बनाउनेले उही सेवा उही मूल्यमा दिनुपर्छ।
हाम्रो मात्र होइन, सबैतिरको चुनौती हो। तर पनि अपरेटरले लगानी नगरी हुँदैन। टेलिकमहरूलाई नियमनबाट संरक्षण गर्नुपर्छ। किनभने यस्ता डिस्ट्रप्टिभ प्रविधिले आम्दानी गर्ने पूर्वाधारमा लगानी नहुने हो भने कनेक्टिभिटी हुँदैन। त्यसपछि त डिजिटाइजेशनमै प्रभाव पर्छ।
अबको युग भनेको मसिन-टु-मसिनको छ। आइओटी भनेर भन्छौं हामीले। यो त आउँछ नै। तर यसका लागि कनेक्टिभिटी चाहिन्छ। जसका लागि पूर्वाधार चाहिन्छ। यसकारणै पनि अपरेटर सस्टेन हुनुपर्छ। त्यसैले सरकारले संरक्षण गर्नुपर्छ।
'सस्टेन'का लागि विकल्प के हुन्?
अहिले नै हामीकहाँ त्यस्तो समस्या त पर्ने छैन। किनकि हामीकहाँ इन्टरनेट 'स्याचुरेट' भएको छैन। बजार बढिरहेको छ। तर यसमा बहस त गर्दै जानुपर्छ। किनभने पछि कस्तो प्रविधि कसरी आउँछ थाहा हुँदैन। हामी पूर्वाधार बनाउँदै जाने। त्यसबाट अरुले फाइदा लिँदै जाने भए त समस्या ल्याउँछ।
यसमा लगानीदेखि बजार महशुलसम्मका कुरामा नियमकले ध्यान दिनुपर्छ। नियमन यसरी हुनुपर्छ कि लगानी बिना कसैले पनि लाभ लिन पाउने हुनु हुँदैन। कुनै ओटिटीले आम्दानी गर्छ भने त्यसको लाभ राज्यले पनि पाउनुपर्छ। त्यो करको नाममा होस् वा शुल्कको रूपमा। नत्र लगानी एउटाले गर्ने नाफा अर्कोले लिने त भएन नि।
केही वर्ष पहिले टेलिकम भ्वाइस अपरेटरजस्तो मात्र थियो। अहिले आम्दानीले पनि देखाउँछ कि आधा आइएसएसपी र आधा भ्वाइस छ। यति छिटो परिवर्तन भइरहेको छ, अबको केही समयपछि अपरेटरहरू कस्तो स्वरुपमा आउँछन् होला?
टेलिकम क्षेत्र पेनेट्रेट नभएको कुनै क्षेत्र नै छैन। अहिले टिभीदेखि रेडियोसम्म मोबाइलमा आउन लागे। हरेक क्षेत्र कन्सुलेड भएर आउने भयो। एकै ठाउँमा कन्टेन्ट वा डेटाको रुपमा। यसको कन्टेन्ट वितरक को भन्दा, हामीजस्तै सेवाप्रदायक हुन्। कन्टेन्टका आधारमा शुल्क लाग्छ। यसकारणले अब टेलिकमहरू कन्टेन्ट वितरकका रुपमा पनि आउँछन्।
अर्को, यसको दायरा फराकिलो हुन्छ।
किनकि यो मसिन-टु-मसिन वा अटोमेशनको जमाना हो। रिमोट सेन्सिङको जमाना हो। यसका लागि कनेक्टभिटी चाहिन्छ। अहिले संसारकै राजनीति फाइभजीले निर्देशित गरिरहेको छ। अबको भविष्यका लागि कनेक्टिभिटी सपोर्टिभ टेलिकम हुन्। उनीहरू त्यसमा छिर्नुपर्छ। कन्टेन्ट कनेक्टिभिटी र एप्लिकेशनमा जानुपर्छ। हरेक चिज एपमा छ अहिले। एप रनिङ हुनुपर्छ। अब बिजनेशन मोडल फेरिन्छ। यसमा टेलिकमले लगातार लगानी गर्दै जानुपर्छ। त्यसैले हामीले राम्रो अभ्यास र प्रविधि अपनाउनुपर्छ।
सेवा गुणस्तरका लागि केके गर्दै हुनुहुन्छ? युजरबेस एक्सपेरियन्सका आधारमा तपाईंहूले काम गर्नुहुन्छ कि हुँदैन?
वायरलेसमा क्वालिटी अफ सर्भिस पूर्णरुपमा ग्यारेन्टी कहिल्यै हुँदैन। यो वायरलाइन मात्र हुन्छ। विश्वव्यापी रुपमा यही हो। मोबाइलमा समस्या नभएको कतै पनि हुँदैन। सिंगापुरका एकजना व्यापारीले मसँग मेलेसियाको भन्दा राम्रो गुणस्तर रहेछ भन्नुहुन्थ्यो।
फेरि यो ग्राहकले तिरेको पैसा र उसको अपेक्षा बीचको भिन्नता पनि हो। जब उसले ग्याप पाउँदैन राम्रो भन्छ। जब पाउँछ खत्तम भन्छ। हामी हरेक क्षेत्रमा केन्द्रित भएर सुधार गर्दैछौं। सबभन्दा राम्रो कुरा हामीप्रति आमजनताको विश्वास छ। हामी सेवा विस्तार र उपलब्धता पनि बढाउँदैछौं। जति बेला पनि फोन लाग्ने नेटवर्क उपलब्धताका लागि काम गर्दैछौं।
नेपालमा इन्टरनेट महँगो भनिन्छ, तपाईंहरू यत्रो बिजनेश भोल्युम पनि बढ्यो भन्नुहुन्छ। यसरी मूल्य अझै सस्तो हुनुपर्ने होइन र?
यो तुलनाको कुरा हो। अहिले दक्षिण एसियामा हामी सस्तो इन्टरनेट दिइरहेका छौं। अझै सस्तो हुन्छ। तर यसमा लाइसेन्सिङ र स्पेक्ट्रोममा केही सुधार हुनुपर्छ।
हामी पाँच वर्षमा २० अर्ब तिर्छौं। हामी २ अपरेटर भएका कारणले मात्र सस्टेन भएका हौं।
त्यस्तै करमा पनि विभिन्न शिर्षकमा लाग्छ। थुप्रै पैसा तिर्नुपर्छ। कर प्रायः उपभोक्तालाई पर्छ। यसले पनि महंगो बनाउँछ। त्यसमा अलि सुधार हुँदा सस्तो हुन्छ।