प्रयोगकर्तालाई जानकारी नदिई पुराना मोडलका फोनलाई सुस्त बनाएकोमा आइफोन निर्माता कम्पनी एप्पललाई २५ मिलियन युरो जरिमाना तिराइएको छ। उसलाई प्रयोकर्तालाई स्पष्ट नपारी फोन सुस्त बनाएकोमा दण्डित गरिएको हो।
एप्पलमाथि फ्रान्सको प्रतिष्पर्धा तथा ठगीधन्दा हेर्ने संस्था डिजिसिसिआरएफले उपभोक्तालाई जानकारी नदिएको भन्दै उक्त रकम जरिमाना गर्ने फैसला गरेको हो।
सन् २०१७ मा एप्पलले आईफोनका केही मोडलहरूको आयु बढाउनका लागि सुस्त बनाएको स्वीकारेको थियो। एप्पलले एक वक्त्वय जारी गर्दै सो संस्थासँग मुद्धा टुङ्गिएको जनाएको छ।
किन एप्पलले पुराना आइफोनलाई सुस्त बनाउँछ?
थुप्रै आइफोन प्रयोगकर्ताहरूले नयाँ मोडलको आइफोन आएपछि उपभोक्ताले त्यसैको खपत ज्यादा गरुन भनेर एप्पलले आफ्ना पुराना मोडलहरूलाई सुस्त गराउने गरेको शंका गर्दै आइरहेका थिए।
सन् २०१७ मा कम्पनीले केही मोडललाई सुस्त बनाएको स्वीकारे पनि मानिहरूलाई नयाँ मोडलको फोन उपभोग गरुन भन्ने उदेश्यले भने त्यसमा नरहेको बताएको थियो।
कम्पनीले ती मोडलहरुमा रहेको लिथियम आयन ब्याट्रीहरूले फोनको प्रदर्शनमा असर गरेकाले सुस्त पारेको स्पष्टिकरण दिएको थियो।
त्यसले आइफोनमा रहेका विद्युतिय तत्वहरुको सुरक्षा गर्नका आइफोन अचानक बन्द गराउनेसम्म गर्ने कुरा सो विज्ञप्तिमा उनले उल्लेख गरेको छ।
आइफोनको यिनै समस्यालाई समाधान गर्न एप्पलले आइफोनसिक्स, आइफोनसिक्सइट र आइफोन एसइका लागि नयाँ सफ्टवयर सार्वजनिक गरेको थियो।
एक आइफोन प्रयोगकर्ताले रेडिटमा फोनको कार्यदक्षता परिक्षण गर्दै आफ्नो फोन ब्याट्री फेरिएपछि पुनः छिटो चल्न थालेको सार्वजनिक गरेपछि एप्पलले फोन सुस्त गराउने गरेको सार्वजनिक भएको हो।
सो फ्रेन्च वाचडग संस्थासँग एप्पल कम्पनीले गरेको सम्झौता अनुसार आफ्नो वेवसाइटमा उसले यसबारेमा एकमहिनासम्म फ्रान्सेली भाषामा सूचना राख्नुपर्नेछ।
के एप्पलले अझै पुराना मोडलका फोनलाई सुस्त पार्ने गर्छ?
सन् २०१७ मा यो प्रकरण बाहिरिएयता एप्पलले आफ्ना अन्य मोडलका आइफोनहरुमा यो अभ्यास लागु गराउँदै आएको छ।
यसमा निम्न मोडलहरु पर्दछन्:
-आइफोन सिक्स, सिक्स प्लस, सिक्स एस प्लस
-आइफोन एसइ
-आइफन सेभेन र सेभेन प्लस
-आइफोन एट र एट प्लस जसमा आओएस १२.१ वा सो भन्दा माथिका संस्करणहरु चल्छन्
-आइफोन एक्स जसमा आओएस १२.१ वा सो भन्दा माथिका संस्करणहरु चल्छन्
-आइफोन एक्सएस, एक्सएस म्याक्स र एक्स आर जसमा आओएस १३.१ वा सो भन्दा माथिका संस्करणहरु चल्छन्
ब्याट्रीको क्षमता कम हुनेथालेपछि मात्रै आइफोनमा यो विशेषता आफै सक्रिय हुन्छ।
घटनापछि आइफोनले आफ्ना प्रयोगकर्ताहरुलाई यसबारेमा स्पष्ट जानकारी दिन थाल्छ।