एन्ड्रोइड अप्रेटिङ सिस्टम आएपछि स्मार्टफोनको अप्रेटिङ सिस्टममा गुगलको राज देखिन्छ। विश्वभरिको सबै एन्ड्रोइड फोनमा गुगलकै कब्जा छ।
गुगल म्याप, गुगल क्रोम, गुगल म्यूजिक आदि धेरै एपहरु डिफल्टको रुपमा मोबाइलमै पाइन्छ। अब भने गुगल संकटमा पर्ने देखिएको छ। किनभने चीनको चार सबैभन्दा ठूला स्मार्टफोन निर्माता कम्पनी हुवावे, भिभो, ओपो र शाओमी छुट्टै नयाँ अप्रेटिङ सिस्टममा काम गरिरहेको खुलेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार यी चारवटै कम्पनी सम्झौता गरेरै नयाँ अपरेटिङ सिस्टम निर्माण गर्न लागेका हुन्। उक्त सम्झौतालाई ग्लोबल डेभलपर्स सर्भिस अलाइन्स (जिडिएसए) नाम दिइएको छ।
पछिल्लो वर्ष हुवावेलाई अमेरिकाले कालोसूचिमा राखेको थियो।
त्यसको केही समयपछि हुवावेले नयाँ अपरेटिङ सिस्टम बनाउने चर्चा गरेको थियो। त्यो बाहेक कम्पनीले आफ्नो म्यापिङ एप पनि लन्च गरेको थियो। विस्तारै हुवावेले गुगल एपप्रति आफ्नो निर्भरता कम गर्दै लगेको छ।
जिडिएसए मार्फत विश्वको कुनै पनि देशको डेभलपर्स गेम, म्यूजिक, फिल्म, आदी एप स्टोरमा राख्न सकिने बताइएको छ।
यसको एक मात्रै उद्देश्य गुगलको प्ले स्टोरको अधिपत्य समाप्त गर्ने रहेको बताएइएको छ। त्यससंगै यी कम्पनीहरुलाई कमाउने नयाँ बाटो पनि प्राप्त हुने छ।
उक्त नयाँ कम्पनी २०२० मार्चमा लन्च हुने बताइएको छ। तर, कोरोना भाइसको कारणले यसमा केही ढिलो हुनसक्ने देखिएको छ। यो इन्डोनेसिया वा रुसमा लन्च गर्न सकिने उल्लेख छ।
नयाँ अपरेटिङ सिस्टम बजारमा आएपछि गुगलको ६० प्रतिशतसम्म हिस्सा गुम्ने शंका गरिएको छ। एक रिपोर्टकाअनुसार ग्लोबल शेयर मार्केटमा यी चार कम्पनीको शेयर ४०.१ प्रतिशत छ। जहाँ २० प्रतिशत हिस्सा एप्पलको छ।
एजेन्सी