फ्रान्सका अर्थमन्त्री ब्रुनो लि मैरले चिनियाँ कम्पनी हुवावेलाई फाइभजी नेटवर्क विस्तारमा प्रतिबन्ध नलगाउने घोषणा गरेका छन्।
सिजिटिएनले उनलाई उद्धत गर्दै लेखेको समाचारअनुसार फ्रान्सले हुवावेलाई फाइभजी नेटवर्कका लागि अनुमति दिने भएको छ।
फ्रान्सले भविष्यमा दूरसञ्चार सञ्चालन तथा विस्तारमा हुवावेलाई बाहिर राख्ने छैन। ‘हामी कुनै पनि कम्पनीलाई विभेद गर्ने छैनौ’ फ्रेन्च अर्थमन्त्रीलाई उद्धत गर्दै सिजिटिएन युरोप संस्करणले लेखेको छ।
तर हुवावेले उसको नेटवर्कबाट सुरक्षा खतरा नभएकोबारे विश्वस्त बनाउनुपर्ने उनको भनाई छ।
अमेरिकाले हुवावे विरुद्ध विश्वव्यापी लविङ गर्दै आएको छ।
सुरक्षा खतरा भएको भन्दै अमेरिकाले हुवावेको नेटवर्कमा प्रतिबन्ध लगाउनुपर्ने तर्क गर्दै आएको छ। अमेरिकी तर्क र लविङका विरुद्ध हुवावेले कुनै पनि सुरक्षा खतरा नभएको स्पष्टीकरण दिंदै आएको छ।
यसअघि अमेरिकी दबाबका बाबजुद बेलायतले हुवावेलाई सिमित सहभागिताको अवसर दिने निर्णय गरिसकेको छ।
एजेन्सी