सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको २६ औँ संस्करणमा कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा चलिरहेको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारीे क्यान इन्फोटेकको चौथो दिनमा आफ्नो सेवाको बजारीकरण गर्न कम्पनीहरु बीच चर्को प्रतिस्पर्धा देखिएको छ । सेवाग्राही तथा अवलोकनकर्ताको ध्यानसमेत व्यावसायिक स्टालतर्फ नै बढी छ ।
विशेषगरी क्यान इन्फोटेकमा राखिएका विभिन्न सेवाप्रदायकले स्टलबाट दिएको छुटले नै अवलोकनकर्तालाई अकर्षित बनाएको छ । मेलामा सेवामूलक स्टलहरु, इन्टरनेट सेवाप्रदायक कम्पनी, टेलिकम कम्पनी तथा इलेक्ट्रिक कम्पनीको छुटमा अवलोकनकर्ताको भिड देखिन्छ । ठूला व्यावसायिक स्टलमा भन्दा साना तथा दैनिक जीवनमा काम लाग्ने समान राखिएका स्टलमा बढी घुइँचो देखिन्छ ।
क्यान इन्फोटेकमा वल्र्डलिङ्क, भायनेट, एनसेल, नेपाल टेलिकमलगायतका विभिन्न कम्पनीले आफ्नो सेवामा आकर्षक छुट दिइरहेका छन् भने ब्रान्डेड सामानले पनि अवलोकनकर्तालाई तानिरहेका छन् । एलजीले आफ्ना समान खरीदमा छटसहितको अफर राखेको छ । प्रभुले मेलामा रु ९९९ मै ३० एमबीपीएस इन्टरनेट दिने योजना सर्वजनिक गरेको छ । टेलिकम र स्मार्टले सिमकार्ड वितरणलाई मुख्य प्रथामिकतामा राखेका छन् ।
दैनिकरूपमा देखिने सामग्रीमा भन्दा अवलोकनकर्ताको रोजाइमा रोबोटिक्स, स्टार्टअप कम्पनी, गेमिङलगायतका नयाँ प्रविधि परेका छन् । मेला आयोजक कम्प्युटर एसोसिएसन अफ नेपाल–क्यान महासङ्घका अध्यक्ष नवराज कुँवर नयाँ प्रविधिमै मानिस बढी अकर्षित रहेको बताउछन्।
“ठूला र महङ्गो सामान भएको स्टलमा भन्दा साना स्टलमै बढी चहलपहल देखिन्छ”, उनले भने।
मेलामा स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनाइन्सियल नोटिस, सोसाइटी डेभलपमेन्ट डट ओआरजी, स्मार्ट केयर डट कम, काठमाडौँ अग्र्यानिक्स, सजिलो मर्मत सेवा, स्कील सेवा, ई–टिकेट नेपाल, सर्वनाम सफ्टवेयर, हाम्रो लाइफ बैंक, डिजिटल नेपालजस्ता स्टार्टअपका स्टल पनि छन् । अवलोकनकर्ताले ती स्टार्टअपहरुले दिने सेवामा चासो देखाइरहेका छन् ।
मेलामा आएका रविकिरण उपाध्यायले क्यान मेलाबाट प्रविधिलाई बुझ्ने र नयाँ आएका प्रविधिलाई उपभोग गर्ने तरिकाको विषयमा जान्ने मौका पाएको बताउनुभयो । मेलामा मोबाइल, ल्यापटप, टेलिभिजन, कम्प्युटर, प्रिन्टर,लगायतका सामानमा विशेष छुट छ । केही ब्राण्डले मेलामा ५० प्रतिशतसम्म छुटमा मोबाइल बिक्री गरिरहेका छन् ।
क्यान मेलामा १७५ स्टल छन् । इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एसेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनका स्टलसमेत छन् । त्यसैगरी आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल, मोबाइल आदिसमेत प्रदर्शनीको आकर्षणका रूपमा रहेका छन् ।
क्यानले प्रविधिका क्षेत्रमा भएका नवीनतम सोचलाई प्रवद्र्धन गर्न स्टार्टअप कम्पनीहरुलाई विशेष प्राथमिकतामा राखेको क्यानका अध्यक्ष कुँवरले बताउनुभयो । उहाँले क्यान इन्फोटेकबाट सरकारले अघिसारेको डिजिटल नेपालको लक्ष्यलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यही फागुन २ गतेदेखि शुरु भएको छ दिने मेलाको चार लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ ।
(रासस)