युरोपियन युनियनको संसदमा युनिभर्सल चार्जरका पक्षमा संकल्प प्रस्ताव पारित भएको छ। युरोपेली संसदमा प्रस्तुत उक्त प्रस्तावका पक्षमा ५८२ सांसदले भोटिङ गरेका थिए। विपक्षमा ४० जना उभिए।
युरोपियन क्षेत्रमा सबै डिभाइसमा एउटै चार्जरले काम गर्ने उत्पादन ल्याउन रूलिङ गर्ने कानून निर्माणका पक्षमा सांसदहरूले प्रस्ताव पारित गरेका छन्।
उक्त संकल्प प्रस्तावअनुसार युरोपेली आयोगलाई कानून बनाएर युरोपका जनतालाई नयाँ डिभाइसका लागि नयाँ चार्जर किन्नुपर्ने झन्झटबाट मुक्त गर्न भनिएको छ।
आगामी जुलाईसम्म इयूले नयाँ कानुन बनाइसक्ने विश्वास गरिएको छ।
डिभाइसपिच्छे चार्जर बोक्नुपर्ने बाध्यताका कारण उपभोक्तालाई अतिरिक्त भार थपिएको र अर्कोतिर त्यसकै कारण इलोक्ट्रोनिक्स फोहोर पनि बढ्दै गएकाले यस्तो कानुन निर्माणका लागि पहल गरिएको बताइएको छ।
इयूको यो प्रस्तावपछि अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले भने कडा प्रतिक्रिया दिएको छ। उसले यस्तो प्रस्तावबाट कसैलाई फाइदा नपुग्ने प्रतिक्रिया बताएको छ।
अहिले धेरैजसो एन्ड्रोएड स्मार्टफोन निर्माता कमन चार्जिङ पोर्टमा गएका छन्। यद्यपी एप्पलले भने अहिलेसम्म आफ्नो भिन्नै पोर्ट राखिरहेको छ।