विश्वको टपटेन ग्लोबल मोबाइल फोन अवार्ड बिजेता मोबाइल ब्राण्ड आइप्रो नेपाली बजारमा भित्रने भएको छ। आइप्रो ब्राण्डलाई व्यवसायीक घराना एपेक्स ग्रुपले नेपाली बजारमा भित्र्याउन लागेको हो।
नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता तथा बिक्रेताको रुपमा एपेक्स ग्रुपले आइप्रो ब्राण्डका फिचर फोनहरु बिक्री गर्नेछ।
पहिलो चरणमा कम्पनीले आइप्रोका सीमित मोडलका फिचर फोनहरु मात्र बिक्री गर्नेछ। बिस्तारै अन्य डिजाइनमा फोनहरु उपलब्ध गराउने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार आइप्रो ब्राण्डका फेशनेबल र लाइफस्टायलसँग जोडिएर उत्पादन भएका फोनहरु नेपालमा ल्याउन लागिएको हो।
एपेक्स ग्रुपका सेल्स हेड अशोक गौतमले बजारमा फिचर फोनको माग पनि उत्तिकै रहेको हुँदा विश्वको प्रमुख ब्राण्डलाई नेपालमा ल्याउन लागेको बताएका छन्।
उनकाअनुसार आइप्रोलाई छिटै नेपाली बजारमा ग्राहकहरुको हातहातमा पुर्याउने गरि योजना बनिरहेको छ।
आइप्रोका फिचर फोनहरुमा ड्यूल सिम, वायरलेस एफएम, क्यामरा, मेमोरी कार्ड थप्नसकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने सुविधालगायतका विशेषताहरु समावेश हुनेछन्।
अमेरिकी र यूरोपेली बजारमा आइप्रोका फोनहरु निकै रुचाइएको छ। सन् २००१ मा आइप्रो ब्राण्ड स्थापना भएको हो।
आइप्रोले विश्वमै पहिलो पटक ड्यूल सिम ड्यूल स्ट्याण्डबाई जीएसएम मोबाइल फोन सन् २००७ मा लन्च गरेको थियो।