अर्थमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले लाइसेन्स होल्ड गर्नेलाई कारबाहीका लागि कानूनी अधिकार प्रयोग गरी अगाडि बढ्न प्राधिकरणलाई निर्देशन दिए।
चौधरी ग्रुपको सिजी टेलिकमको लाइसेन्स खारेज भएको सन्दर्भलाई लक्षित गर्दै खतिवडाले भने ‘सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने र कारबाही गर्न खोज्दा अदालत जाने प्रवृति राष्ट्रिय रोगको रुपमा देखा परेको छ।’
राज्यलाई फाइदा नहुनेगरी मुख हेरेर, दवाव हेरेर काम गरे नियामक निकायको भूमिकामा प्रश्न उठ्ने उनले बताए। ‘लाइसेन्स होल्ड गर्ने कुरा अन्यन्त्र छ भन्ने सुनेको थिए अहिले केही दिनदेखि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्दा यहाँ पनि त्यो प्रवृति रहेछ, यो त राष्ट्रिय रोग पो भएको रहेछ, यसको पनि अब अन्त्य हुनुपर्छ।’
मन्त्री खतिवडाले दुरसञ्चारको फ्रिक्वेन्सी तोक लगाएर बाँडिने गरेको र कुनै बेला टेलिफोनको तोक लगाउन आफू मन्त्रीकोमा पुगेको स्मरण गर्दै त्यो युगको अन्त्य गर्नुपर्ने बताए।
उनले अबको सेवा भ्वाइसमा भन्दा डेटामा बढी हुनुपर्ने बताए। क्रिप्टो करेन्सी, क्राउडसोर्सिङ, इकमर्सका क्षेत्रमा डेटा महत्वपूर्ण हुने भएकाले डेटाको सेवा वृद्धि गर्न र गुणस्तरीय बनाउन ध्यान दिन उनले आग्रह गरे।
प्राधिकरणको व्यवसायिक काममा मन्त्रालयले हस्तक्षेप नगर्ने तर मन्त्रालयप्रति प्राधिकरण जवाफदेही हुनुपर्ने उनको भनाइ छ। जवाफेही बिनाको स्वायत्तता अराजकता हुने भन्दै त्यसमा सचेत भएर काम गर्न मन्त्री खतिवडाले निर्देशन दिए।