एनसेल प्राईभेट लिमिटेडले अझ बढी बोनसहित यो वर्ष पनि ‘कल आयो पैसा पायो’ अफर ल्याएको छ।
यस योजनाअन्तर्गत ग्राहकले अब जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय कलमा दुई मिनेट वा सो भन्दा बढी कुरा गर्दा प्रत्येक मिनेटको २ रुपैयाँ बोनसस्वरुप पाउँनेछन्।
यो अफर बुधबारबाट लागू भएको छ र ३ महिनासम्म जारी रहने बताइएको छ। एनसेलका ग्राहकले विदेशबाट आएको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट ११ मिनेटसम्म २ रुपैयाँको दरले बोनस पाउँछन्।
यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रुपैयाँसम्म बोनस प्राप्त पाउँछन्।
यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुने जनाइएको छ। ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन्।
एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरी यो योजना निःशूल्क सुचारु गरी लाभ लिन सक्छन्। त्यसैगरी, ग्राहकले ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस लिन सक्छन्।
यस योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ ग्यालेक्सी एट्वान्टी स्मार्टफोन पनि जित्न सक्ने बताइएको छ। यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १/१ थान स्मार्टफोन पाउँनेछन्।
एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, कुल अन्तर्राष्ट्रिय आगमन कल र औसत कलको समयअनुसार विजेताको छनोट गरिनेछ।