नेपाल टेलिकमले पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ। स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी सेवाको शुरुवात गरेको हो।
सगरमाथा आरोहणका लागि जाने आरोहीहरु र हिमालको दृश्यावलोकनका लागि विश्वभरबाट आउने पर्यटकहरुले यसबाट प्रत्यक्ष लाभ उठाउनसक्ने टेलिकमले बताएको छ।
स्याङ्बोचेमा स्थापित मोबाइल बीटीएसबाट विदेशी तथा स्वदेशी यात्रुहरुले उच्च गतिको डाटा र गुणस्तरीय भ्वाइस सुविधा सहितको फोरजी मोबाइल सेवा उपभोग गर्नसक्नेछन्।
फागुन १५ देखि जेठ १५ सम्म र असोज, कात्तिक र मंसिरलाई त्यस क्षेत्रको भ्रमणका लागि उपयुक्त समय मानिन्छ।
ती दिनमा नाम्चे, स्याङ्बोचे, खुम्जुङ, खुण्डे, चर्चित गोक्यो ताल लगायत स्थानहरु भ्रमण गर्ने तथा सगरमाथा आरोहण गर्ने पर्यटकको आवतजावत अत्याधिक हुने गरेको छ।