नेपाल टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत् मोबाइलमा कोरोना भाइरसबारे जानकारी दिन थालेको छ।
यसका लागि टेलिकमले दुई तरिका अपनाएको छ।
पहिलो, टेलिकमका नम्बरबाट फोन गर्दा पहिले घन्टी जान्थ्यो भने अहिले जानकारी सुनिन्छ। तपाईंले कसैलाई फोन गर्दा कोरोना भाइरसबारे जानकारी दिँदै बच्ने उपाय सुनिन्छ। करिब ३७ सेकेन्डको उक्त जानकारीमूलक सन्देशपछि फेरि घन्टी बज्छ।
आफूलाई फोन गर्ने मान्छेले यो पूरा जानकारी सुनोस् भन्ने चाहनुहुन्छ भने घन्टी बजेको ३७ सेकेन्डपछि मात्र उठाउनुहोला।
कोरोना भाइरस के हो, यसका लक्षण, फैलिने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनुपर्ने उपाय र अपनाउनु पर्ने सावधानीबारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकका बारे जानकारी दिइन्छ।
साथै टेलिकमले ३२१०० नम्बर डायल गर्दा पनि जानकारी पाइने व्यवस्था गरेको छ। यो नम्बरमा डायल गर्दा पैसा लाग्दैन।
यससम्बन्धी थप जानकारी लिन नेपाल सरकारका हटलाइन नम्बर समेत यहीँबाट थाहा पाउन सकिने बताइएको छ।
नेपाल टेलिकमले गत असार महिनादेखि नै ‘एनटी सूचनाको संसार’ सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराइरहेको छ।
यो एक प्रकारको कल–इन सिष्टम हो। जसमा नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी नेपाली भाषामा कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपतसम्बन्धी विभिन्न जानकारी निःशूल्क लिन सकिन्छ।
विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले ‘एनटी सूचनाको संसार’ सेवाबाट ग्राहक लाभान्वित हुने विश्वास लिइएकाे छ।