कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलिन नदिन भन्दै सरकारले आजदेखि हिडडुल नै प्रतिबन्ध लगाएको छ।
सबैप्रकारका क्रियाकलाप देशमा ठप्प भएका छन्। उद्योग प्रतिष्ठान बन्द भएका छन्। केही मान्छेले रोजगारी पनि गुमाएका छन्। यस्तोमा केही उत्पादन तथा सेवाको माग तथा आपूर्ति बढिरहेको छ।
दैनिक उपभोग्य वस्तुको माग तथा खपतमा यसले खासै प्रभाव पारेको छ। आजदेखि देश नै बन्द भएपनि दूरसञ्चार सेवाको माग भने ह्वात्तै बढेको छ। दूरसञ्चारमा पनि इन्टरनेट सेवाको माग धेरै बढेको हो।
गएको एक सातादेखि नै इन्टरनेटको खपत बढ्दै गएको छ।
एक साता पहिलेको तुलनामा पछिल्ला दिनमा दैनिक ३० प्रतिशतले ब्यान्डविथ खतप बढीरहेको नेपालको सबैभन्दा ठूलो फिक्स्ड इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकका म्यानेजर लक्ष्मण यादवले जानकारी दिए।
'कोरोना संक्रमणको त्रासले धेरै उपभोक्ताहरु पछिल्ला दिनमा घरभित्रै सिमित भएकाक छन्। उनीहरुले वाइफाइ वा तारबाट इन्टरनेट धेरै चलाइरहेका छन्' उनले भने,'उपभोक्ताले घरमा बस्दा भिडिओ स्ट्रिमिङ धेरै गर्नाले ब्यान्डविथमै समस्या भएको छ।'
नेपालका इन्टरनेट सेवाप्रदायकहरुले राति ८ देखि १० बजेको बीचमा एकैतिर धेरै खपत हुँदा नियमितको तुलनामा इन्टरनेटको गति पनि सुस्त भएको छ। सेवाप्रदायकहरुले उक्त समयमा अनावस्यक इन्टरनेट नचलाउन आग्रह गरेका छन्।
'धेरै मान्छेले अहिले घरबाटै काम गरिरहेका छन्। सम्पर्क तथा सञ्चार पनि इन्टरनेटकै माध्यमबाट गरिरहेका छन्। यस्तो बेला इन्टरनेटमा अनावस्यक गतिविधि नगरिदिनुहोला' नेपाली इन्टरनेट सेवाप्रदायकहरुको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।