युट्युबले आफ्नो भिडिओको गुणस्तर कम गरेको छ। युट्युब खोल्नेबित्तिकै चल्ने साविकको 'डिफल्ट' मा 'एचडी' बाट एक स्तर कम गरी कम्पनीले 'स्ट्यान्डर्ड' मा बदलेको जनाएको छ। यही साता मगंलबारदेखि भिडियओ गुणस्तर परिवर्तन गरिएको हो।
संसारभर कोरोना भाइरसका कारण धेरै देश लकडाउनमा छन्। मान्छेहरू घरै बस्न बाध्य भएकाले दिनभर धेरैजसो इन्टरनेटमै झुम्मिएका छन्। यस्तो बेलामा इन्टरनेट पूर्वाधारको भार कम गर्न यो नीति लिइएको युट्युबले जनाएको छ।
प्रयोगकर्ताले अझै पनि भिडिओ खोलेर आफूले चाहेको गुणस्तरमा परिवर्तन गर्न भने सक्छन्।
यो अहिलेलाई तीस दिनसम्म लागू हुने भनिएको छ।
युट्युवले जारी गरेको एक विज्ञप्ति अनुसार यो पहल गर्नु भनेको अभूतपूर्व अवस्थाका बेला सबैलाई आवश्यक प्रणालीमा भार कम गर्न खोजिएको हो।
इन्टरनेट प्रवाहमा समस्या आउन नदिन यसअघि नै युट्युब र नेटफ्लिक्सले युरोपमा सीमित समयका लागि भिडिओ गुणस्तर कम गर्ने सूचना जारी गरेका थिए।
अहिले घरबाट काम गर्ने र अध्ययन गर्नेको संख्या बढेसँगै इन्टरनेट पूर्वाधारमा ठूलो भार परेको छ। यसमा पनि केही ठूला प्रविधि प्लेटफर्मले धेरै चुनौती भोगिरहेका छन्। तिनले सेवा प्रदानसँगै बढ्दो मागबीच चल्नुपर्नेछ।
गत साता फेसबुकका सिइओ मार्क जुकरवर्गले पत्रकारहरूलाई फेसबुकले ठूलो उतारचढाव सामना गर्नु परिरहेको बताएका थिए।
त्यस्तै इन्स्टाग्राम प्रमुख एडम मोसेरीका अनुसार पनि सामाजिक सञ्जालमा प्रयोगकर्ताको समय बढेसँगै समस्या पनि बढेको छ।
इन्स्टाग्रामको नयाँ फिचरबारे बताउँदै उनले भनेका छन्- 'हामीले इन्स्टामा दिएको फिचरमा प्रयोगकर्ताहरू घरबाट के गरिरहेका छन् भन्ने देखाउँछ। त्यसमा ‘घर बस’ भन्ने सन्देश पनि दिइन्छ। यो निकै लोकप्रिय भयो। सुरूमा त झन्डै इन्स्टाग्राम डाउन नै हुने अवस्था थियो।’