नेपाल टेलिकमले आफ्ना ग्राहकलाई प्रदान गरिरहेको भ्वाइस तथा डाटा सेवामा दिइएको ‘स्टे कनेक्टेड’ अफरको अवधि थप गरेको छ।
नेपाल सरकारले तेश्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी अफरको अवधि थप गरेको हो।
उक्त अवधि बिहीबार देखि वैशाख ४ गतेसम्म बढाएको कम्पनीले बताएको छ।
थप गरिएका यी ८ दिनमा कम्पनीका ग्राहकले निम्न सुविधाको निरन्तरता पाउँनेछन्।
१. जीएसएम सेवामा डाटा प्याक अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयाँमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्नुपर्नेछ।
यसैगरी दोश्रो प्याकेजमा २ सयमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र कम्पनीको फोरजी नेटवर्कमा ७ दिनभित्र खपत गरिसक्नुपर्छ। यसरी १ सयमा बोनससहित कुल ४ जीबी र २ सयमा बोनससहित १० जीबी डाटा प्रयोग गर्न सकिन्छ।
२. कम्पनीकै नेटवर्कभित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलब्ध गराउने निर्णय गरिएको छ।
सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ रुपैयाँमा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ।
यसैगरी दोश्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि १ सयमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ। यसरी २५रुपैयाँमा एक दिनका लागि बोनससहित ६० मिनेट र १ सयमा ७ दिनका लागि बोनससहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ।
३. उक्त स्टे कनेक्टेड अफर नेपाल टेलिकम एप र युएसएसडीबाट खरिद गर्न सकिन्छ।
यसैगरी कम्पनीले विन्टर अफरका रुपमा उपलब्ध गराइरहेका छुटहरुलाई स्प्रिङ अफरका रुपमा २०७७ असार मसान्तसम्म विस्तार गरेको छ।
सो अन्तर्गत अल टाइम डाटा प्याक, डे डाटा प्याक, नाइट डाटा प्याक, सोसियल मिडिया प्याक, युट्युब (स्ट्रिमिङ) डाटा प्याक, डे टाइम भ्वाइस प्याक, पोष्टपेड प्याक र बिग डाटा प्याक उपलब्ध छन्।
वाइम्याक्स सेवामा प्रदान गरिएको छुट अवधिलाई पनि अगामी असार मसान्तसम्म थप गरिएको छ।
कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा पोस्टपेड मोबाइलमा युएसएसडी कोडमार्फत एक दिनमा बढीमा १० पटकसम्म र एक पटकमा दशदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिने व्यवस्था थियो।
हाल यसलार्ई परिमार्जन गरी एक दिनमा बढीमा २० पटकसम्म र एक पटकमा ५ सय रपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था गरिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच २०७४ वैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौताअनुसार भूकम्प प्रभावित ४ जिल्लाहरु नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानहरुमा कम्पनीले २ वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट जडान तथा मर्मत गरेको थियो।
हाल सो सम्झौता अवधि समाप्त भएको अवस्थामा ती स्थानहरुलाई नेपाल सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टाइन स्थल बनाएकाले
प्राधिकरणको अनुरोधमा ती स्थानहरुमा समयावधि समाप्त भइसकेका इन्टरनेट सेवाको समयावधि मिति २०७६ चैत २३ गतेदेखि २ महिना निस्शुल्क थप गर्ने निर्णय गरिएको कम्पनीले बताएको छ।
साथै जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको छुट क्रमशः ३० प्रतिशत र २७ प्रतिशत लकडाउन अवधिभर निरन्तर रहने जानकारी दिइएको छ।