टेलिकन्फ्रेन्सिङ सफ्टवेयर जुम स्थापनाको करिब एक दशकपछि संसारभर सर्वसाधारणको माझमा पुगेको छ।
यसअघि कन्फ्रेन्सिङ प्लेटफर्मका रुपमामात्र रहेको यसको प्रयोग व्यावसायिक क्षेत्र तथा सिमित देशहरुमा मात्र सिमित थियो। तर अहिले धेरैले यसको प्रयोग गर्न थालेका छन्। प्रयोग नगर्नेहरुले पनि जुमका बारेमा सुनेका छन्।
नेपालमै पनि अहिलेको जति बृहत जानकारी पहिले थिएन। अहिले धेरैले यसको प्रयोग गर्न थालेका छन्। सन् २०२० को सुरुवातदेखि नै संसारभर व्यापक प्रयोगमा आएको जुम पछिल्लो समय भने एउटा समाचारका कारण पनि विश्वभर चर्चित भयो।
भर्चुअल मिटिङ, कन्फ्रेन्स तथा शैक्षिक सिकाइका लागि प्रयोग हुँदै आएको जुमको यो बुमको एउटा कारण महामारी हो।
महामारी अगाडि सिमित देश तथा वर्गमा मात्र सिमित भएको जुमको प्रयोग अहिले संसारभर फैलिएको छ। सन् २०१९ को अन्तिममा चीनको बुहानबाट सुरु भएर महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड १९) का कारण जुमले असाधारण एक्स्पोजर पाएको छ।
कोभिड १९ को संक्रमण बढ्दै जाँदा लकडाउन घोषणा भयो। लकडाउन नभएका देशमा पनि भौतिक दुरी कायम गर्ने निर्देश तथा आदेशहरु भए। सोही कारण धेरै मान्छेहरु घरबाट काम गर्न थाले। यस्तोमा मिटिङ तथा कन्फ्रेन्स गर्दा जुमकै प्रयोग हुन थाले।
नेपालमै पनि नेपाली सेनाले जुमकै माध्यमबाट पत्रकार सम्मेलन गरेको थियो।
संसारभर जुमका प्रयोगकर्ता दिनप्रतिदिन बढीरहेका छन्। अझ भनौ यसको ट्राफिकमा प्रत्येक दिन रेकर्ड कायम भइरहेको छ।
'प्रत्येक दिन कीर्तिमानी हुँदै आएका छन्। सन् २०१९ को डिसेम्बरमा जुमका दैनिक प्रयोगकर्ता १ करोडमात्र थिए। अहिले यो संख्या २० करोड पुगेको छ' जुमका संस्थापक तथा प्रमुख कार्यकारी एरिक युआनले भनेका छन्।
यो अवधिमा जुमको सेयर मूल्य पनि ७२ प्रतिशतले बढेको छ।
कतिपयले जुमलाई महामारी सामाजिक सञ्जाल पनि भन्ने गरेका छन्। किन भने महामारी अघि यो केवल एउटा टेलिकन्फ्रेन्सिङ सिस्टममात्र थियो। तर अहिले यो ग्यादर,डेटिङ,अन्तरक्रिया,एनिभर्सरी र जन्मदिन मनाउँदा जम्मा हुने थलो पनि भएको छ।
जुमका प्रयोगकर्ता बढ्नुमा उसले लिएको रणनीति र प्रतिस्पर्धीको तुलनामा सजिलो इन्टरफेसलाई कारकका रुपमा लिइएको छ।
जुन देशमा लकडाउन भयो जुमले त्यहाँ शिक्षण संस्थालाई निशुल्क सेवामा रहेको सिमित समयलाई हटाइदियो। यसैका कारणले गर्दा पनि प्रयोगकर्ता बढेको बताइन्छ।
जुमका जब प्रयोगकर्ताहरु बढ्दै गए। यसको डेटा सुरक्षाको विषय स्वभाविक रुपमा महत्वपूर्ण भएर आयो। पछिल्लो समयका केही अध्ययनहरुले जुम डेटा सुरक्षाका हिसाबले जोखिमपूर्ण भएको आरोप लागेको छ।
यो आरोपपछि अमेरिका तथा युरोपका कतिपय शैक्षिक संस्थाले जुम चाल/उन छाडेका खबरहरु आएका छन्। ताइवानको सरकारले त सरकारी संस्थालाई जुम चलाउन नै प्रतिबन्ध लगाइदिएको छ।
(एजेन्सीहरुको सहयोगमा)