एनसेल प्राइभेट लिमिटेडले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोनाभाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्याउने भएको छ।
एनसेलले बुधवारदेखि यूएसएसडी माध्यमबाट सर्वेक्षण शुरु गरेको छ।
यो सर्वेक्षणमा एनसेलका ग्राहक÷सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१००ह्यास डायल गरी कोरोनाभाइरस रोगसँग सम्बन्धित पाँचवटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थितीअनुसार १ वा २ विकल्प छानेर दिन सक्छन्।
प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझाव सहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुन्छ।
हटलाइन नम्बरमा कोरोनाभाइरस सम्बन्धि चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिन्छ।
यदि सर्वेक्षणमा भाग लिएको कोही संक्रमणमा परेको शंकाको वर्गमा देखिए तत्काल स्वास्थ्य परामर्शका लागि एसएमएस मार्फत सुझाव दिइन्छ।
यसरी संक्रमणको शंकामा परेकाहरुको विवरण सरकारको सीसीएमसीलाई पनि बुझाइन्छ।
सर्वेक्षणमा भाग लिनु पुर्व नै यस सर्वेक्षणको उद्देश्य नेपाल सरकारलाई कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने रहेको सुचित गरिन्छ।
कोरोनाभाइरस विरुद्धको यो सामुहिक लडाईका साथै देशमा रहेको सबै ग्राहकको सेवा सुनिश्चित राख्न प्रतिवद्ध रहेको एनसेलले बताएको छ।
कोरोनाभाइरस संक्रमणको रोकथामको लागि एनसेलले सरकारकोे कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान गरिसकेको छ।