नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई सेवा अवरुद्ध नगर्न निर्देशन दिएको छ।
लकडाउनको अवधिमा बिल भुक्तानी नगरेको भन्दै उपभोक्ताको गुनासो आएको र यसले नकारात्मक असर पर्ने भन्दै प्राधिकरणले सेवा सुचारु राख्न निर्देशन दिएको हो।
प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणले लकडाउनकै समयमा इन्टरनेट महशुल तिर्न असमर्थ ग्राहक लाइन काट्नुको सट्टा अनलाइन भुक्तानीका लागि उत्प्रेरित गर्न पनि भनेको छ। यदि अनलाइन पनि भुक्तानी गर्न नसक्ने भएमा लकडाउन पछि बिलम्ब शुल्क नलगानइ भुक्तानी लिन प्राधिकरणले सेवाप्रदायकहरुलाई निर्देशन दिएको छ।
पछिल्लो समय महशुल भुक्तानी नगरेको भन्दै इन्टरनेट सेवाप्रादायकहरुले लाइन काट्दै आएका थिए। यसबारेमा जनगुनासो बढेपछि प्राधिकरणले सो निर्देशन दिएको हो।