विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्न नेपाल सरकारले चैत ११ गतेदेखि बैशाख १५ गतेसम्म लकडाउन घोषणा गरेको छ। यस बीचमा अत्यावश्यक सामान बाहेक अन्य वस्तुको आपूर्ति भएको छैन।
चालू आर्थिक वर्ष २०७६/०७७ को चैत महिनाको तथ्याङक हेर्दा चैत १ गतेदेखि १० गतेसम्ममा ७५ हजार मोबाइल सेट विभिन्न मुलुकबाट भित्रिएको छ।
विश्वव्यापी रूपमा फैलिएको कोरोनाले आप्रर्तिमा समस्या होला भन्ने उद्देश्यले व्यवसायीले पहिल्यै मोबाइल आयात गरेको मोबाइल व्यवसायी संघका अध्यक्ष पुर्शोत्तम बस्नेत बताउँछन्।
‘मोबाइल ल्याउने मुलुकमा बन्दाबन्दी होला भनेर व्यवसायीले मोबाइल स्टक राख्न पहिल्यै आयात गरे, अहिले बेच्न नपाउँदा घाटा लागेको छ,’ उनले भने।
देश सामान्य अवस्थामा आएको लामो समयपछि मात्र मोबाइलले बजार लिने उनी बताउँछन्।
चालू आवको साउनदेखि फागुनसम्ममा ३७ लाख ७१ हजार मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। त्यसैगरि साउनदेखि चैतसम्ममा ३८ लाख ४७ हजार मोबाइल सेट भित्रिएको छ।
पछिल्ला वर्षहरूको तुलनामा पनि मोबाइल आयात बढ्दै गएको छ। सरकारले भन्सार दर घटाएपछि मोबाइल आयात बढेको मोबाइल व्यवसायी सङ्घका अध्यक्ष बस्नेत बताउँछन्।
‘पहिला भन्सार दर ५ प्रतिशत थियो। चालू आवबाट २.५ झरेको छ। यसले आयात बढाएको छ’, उनले भने, ‘विश्वव्यापी रूपमा कारोना संक्रमणले उल्लेख्य रूपमा मोबाइल आउन सकेन।’
चालू आवको साउनदेखि चैतसम्म विभिन्न देशबाट ३८ लाख ४७ हजार मोबाइल सेट भित्रिएको तथ्याङ्कले देखाएको छ। सो परिमाणको मोबाइल सेट आयातको लागि देशबाट झण्डै साढे १४ अर्ब रूपैयाँ बाहिरिएको छ।
यो गत वर्षको सोही अवधीको तुलनामा १९ प्रतिशतले बढी हो।
गत साउनदेखि चैतसम्म ३२ लाख मोबाइल सेट नेपाली बजारमा भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। सो परिमाणको मोबाइल सेट आयातको लागि देशबाट १४ अर्ब रूपैयाँ बाहिरिएको छ।
नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेको छ। ती मध्ये चीन, भेइतनाम, भारत लगायतका देशबाट बढी फोन आउने विभागको तथ्याङ्क छ।
सञ्चारको सहज माध्यम मोबाइलको आयात बढ्नु स्वभाविक हो।
मोबाइलले विश्वमै राम्रो बजार पाइरहेको छ। पछिल्लो समय मोबाइल प्रयोगकर्ता पनि बढ्दै गएका छन्। ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थाले पछि विकट क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोग तीव्ररूपमा भइरहेको छ।
‘झिटी, गुण्टा आदेश २०७५’ले पनि मोबाइलको बजारलाई व्यवस्थित गरेको छ। सो व्यवस्था अनुसार वैदेशिक यात्रामा गएकाले १ सेट मात्र मोबाइल ल्याउन पाइने छ।