नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुलाई लकडाउनको बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले ‘जिरो ब्यालेन्स प्याकेज’को योजना ल्याएको छ।
लकडाउन शुरु भएको मितिबाट ७ दिनसम्म वा चैत ११ देखि १८ सम्म कम्तिमा १ कल गरेका र सोमबार मध्यरातमा ३३ पैसाभन्दा कम व्यालेन्स भएका मोबाइल नम्बरहरूमा उक्त प्याकेजसम्बन्धी सूचना एसएमएसबाट पठाइने बताइएको छ।
सो एसएमएस प्राप्त भएको दुई दिनभित्र सम्बन्धित मोबाइल प्रयोगकर्ताले उक्त एसएमएसमा उल्लेख गरिएअनुसार एसएमएसबाटै जवाफ फर्काउनु पर्ने टेलिकमको भनाइ छ।
सम्बन्धित प्रयोगकर्ताले जवाफ फर्काएपछि कम्पनीले सो प्याकेज लागू गरी सोको जानकारी ग्राहकलाई पुनः एसएमएसबाट पठाउनेछ।
मापदण्डअनुसार प्याकेज प्राप्त गर्नसक्ने प्रयोगकर्तालाई ७ दिन म्याद रहेको प्याकेज उपलब्ध गराइनेछ।
सो प्याकेज अन्तर्गत सेवाग्राहीले १०० एमबी डाटा चलाउने, ५० मिनेट भ्वाइस कल गर्ने (नेपाल टेलिकमको नेटवर्क भित्र) र २५ वटा एसएमएस पठाउने सुविधा (नेपाल टेलिकमको नेटवर्कभित्र) निःशुल्क प्राप्त गर्ने जानकारी गराइएको छ।
‘कम्पनीले निर्धारण गरेको मापदण्ड बाहेकका नम्बरहरूमा सो प्याकेज उपलब्ध गराइने छैन’,टेलिकमले भनेको छ।
यसैगरी कम्पनीले लकडाउन शुरु भएको मितिदेखि शुन्य व्यालेन्स भएका तर आगमन कल निषेध नभएका अर्थात २४ मार्च २०२० पछि शुन्य व्यालेन्स भई रिचार्ज नभएका प्रिपेड ग्राहकहरूले समेत प्याकेज प्रयोग गर्नसक्छन्।
र आगमन कल उठाउन सक्ने बनाउनको लागि आवश्यक न्यूनतम व्यालेन्स थप्नुका साथै उक्त नम्बरहरूको म्याद समेत ३० अप्रिल २०२० सम्म बढाउने निर्णय गरेको कम्पनीले बताएको छ।