नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलको बिलिङ प्रणाली सम्बन्धमा ग्राहकहरुमा केही भ्रम पाइएको छ। यस बारेमा स्पष्ट हुनु आवश्यक देखिएको टेलिकमले बताएको छ।
पोस्टपेड बिलिङमा ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड अमाउन्टको रुपमा लेखांकन गरिन्छ। र महिनाको अन्त्य (सामान्यतः अंग्रेजी महिनाको १५ तारिख) मा मात्र बिल तयार गरिन्छ।
बिल तयार भइसकेको तर ग्राहकले भुक्तानी गर्न बाँकी रहेको रकमलाई अनपेड बिल भनिन्छ। उदाहरणको लागि मार्च २२ मा ९८५१०००००० को अनपेड बिल १४२५ छ भन्नाले यस ग्राहकले मार्च १४ सम्म (फागुन महिना वा सो भन्दा अघि) को बिलमध्ये १४२५ रुपैयाँ भुक्तानी गर्न बाँकी छ भन्ने बुझाउँने कम्पनीले बताएको छ।
के हो अनबिल्ड अमाउन्ट
पोस्टपेड नम्बरको महिनाभरको प्रयोगको आधारमा महिनाको अन्त्यमा बिल तयार गरिने भए तापनि सिस्टमले हरेक कलपछि उक्त कलवापत लाग्ने रकमको हिसाब गरिरहेको हुन्छ।
यसरी बिल तयार गर्न बाँकी रहेको तर ग्राहकले चालु महिनामा गरेको सेवा उपभोग गरेवापतको रकमलाई अनबिल्ड अमाउन्ट भनिन्छ।
उदाहरणका लागि मार्च २२ सम्ममा ९८५१०००००० नम्बरको अनबिल्ड अमाउन्ट रु. २४८ छ भन्नाले मार्च १५ (मार्च १४ सम्मको बिल तयार भएपछि) भन्दा पछि मार्च २२ सम्म उपभोग गरेको सेवावापत तिर्नुपर्ने रकम २४८ छ भन्ने बुझाउँछ।
महिनाभरको अनबिल्ड अमाउन्टका आधारमा चैत महिनाको अन्त्यमा (अप्रिल महिनाको १५ तारिख) प्रोसेसिङ गरी बिल तयार गरिन्छ।
के हो ड्यू अमाउन्ट?
सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकमलाई ड्यू अमाउन्ट भनिन्छ।
ड्यू अमाउन्ट भनेको अनपेड बिल र अनबिल्ड अमाउन्टको योगफल हो।
उदाहरणको लागि माथिको ९८५१०००००० नम्बरको ग्राहकको मार्च २२ का दिनमा ड्यू अमाउन्ट १६७३ रुपैयाँ (रु.१४२५ंरु.२४८) हुन्छ।
आफ्नो यो सबै बिलिङ रकमको बारेमा जानकारी लिनका लागि स्टार चारसय ह्याच डायल गर्न सकिन्छ।
यसरी कल गर्दा आउने एसएमएसमा देखिने अभाइलेबल क्रेडिट ग्राहकले प्रयोग गर्न पाउने रकम हो।
क्रेडिट लिमिट के हो ?
हाल नयाँ पोस्टपेड नम्बर लिंदा स्वामित्व करवापतको रकम ५०० रुपैयाँ भ्याटवापत ६५ र क्रेडिट लिमिट वापत ३८० गरी जम्मा ९४५ रुपैयाँ लाग्दछ।
स्वामित्व कर र भ्याटवापतको रकम सरकारी कोषमा जम्मा हुन्छ भने ३८० रुपैयाँ रकम ग्राहकले सेवा प्रयोग गर्न पाउने गरी कायम रहन्छ। यो ३८० नै ग्राहकको क्रेडिट लिमिट हो। नयाँ पोस्टपेड मोबाइल लिंदा लाग्ने शुल्कमा समयसापेक्ष परिमार्जन हुँदै आएकोले विभिन्न ग्राहकको क्रेडिट लिमिट पनि फरक फरक हुने गर्दछ।
रेन्टल चार्ज
पोष्टपेड मोबाइलका लागि मासिक रुपमा न्यूनतम ३८३.०७ रुपैयाँ रेन्टल चार्ज तय गरिएको छ। यसको अर्थ ग्राहकले यो भन्दा थोरै रकमको सुविधा प्रयोग गरे पनि ३८३.०७ रुपैयाँ तिर्नैपर्छ।
कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष अफर लिएका ग्राहकहरुको हकमा भने यो रकम फरक हुनसक्छ।
कम्पनीकाअनुसार पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पहिले देखि नै गरिएको हो। मासिक रुपमा
यो भन्दा धेरै रकम प्रयोग गर्नेहरुले क्रेडिट लिमिट बढाउँदा राम्रो हुने कम्पनीको भनाइ छ। यही रेन्टल रकमबाटै सामान्य रुपमा फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइन्छ।
तर पोष्टपेड प्याक बाहेक अन्य छुट्टै प्याक किन्दा थप पैसा तिर्नुपर्ने टेलिकले बताएको छ। पोस्टपेड प्याक लिनका लागि स्टार १४१५ टार २ ह्याच डायल गरी आफूलाई उपयुक्त प्याक खरिद गर्न सकिन्छ।
साथै संचित रकम सकिएर कल गर्न रोकिएको पोस्टपेड नम्बरमा रिचार्ज गर्दा जम्मा भएको नेगेटिभ व्यालेन्स कट्टा गरी बाँकी रकम मात्र व्यालेन्समा देखिन्छ।
सेवा एकतर्फी भएको मोबाइलमा पहिल्यै किनेको प्याक बाँकी रहेछ भने त्यो प्याक चलाउन सकिंदैन र रिचार्ज गरी दुईतर्फी सेवा सुचारु भएपछि बाँकी रहेको प्याक पुनस् प्रयोग गर्न सकिन्छ।
सामान्यतः नेपाली महिनाको अन्त्य अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा बिल हिसाब गर्दा धेरै ग्राहक झुक्किने गरेको कम्पनीले बताएको छ।
यो अवस्थामा महिनामा थोरै मात्र रकम प्रयोग गरेको भएपनि ३८३.०७ रुपैयाँ जोडेर त्यो महिनाको हिसाब गरिन्छ।
यदि कुनै ग्राहकले महिनामा १०० रुपैयाँ मात्र प्रयोग गरेको भएपनि ३८३.०७ रुपैयाँ नै काटिन्छ र आफ्नो २८३.०७ रुपैयाँ कता हरायो भनी झुक्किएको पाइएको कम्पनीको भनाइ छ।
बिल थाहा पाउने तरिका
पोस्टपेड मोबाइल बिलको जानकारी लिनका लागि स्टार ४ सय ह्याच डायल गर्न सकिन्छ। त्यसैगरी कम्पनीको वेबसाइटबाट र कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि हेर्न सकिन्छ।
कम्पनीको एपबाट आफूले प्रयोग गरेको पछिल्लो ५ दिनसम्मको सबै बिलको रेकड समेत हेर्न सकिने कम्प्नीले जनाकारी दिएको छ।
नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलमार्फत गरिने कलको दर प्रिपेडको तुलनामा सस्तो हुन्छ। साथै अन्य विभिन्न सुविधा समेत यसबाट प्रयोग गर्न सकिने टेलिकमले बताएको छ।