कोरोना कहर तथा निरन्तरको अमेरिकी कालोसूचीका बाबजुद चिनियाँ टेक कम्पनी हुवावेको आम्दानी बढेको छ। कम्पनीले सन् २०२० को पहिलो तीन महिनामा अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले आफ्नो आम्दनी बढाएको छ।
यद्यपी यो अघिल्लो वर्षको तुलनामा न्यून बृद्धिदर हो।
हुवावेले सन् २०२० को पहिलो त्राइमासमा १८२.२ अर्ब चिनियाँ युआन(२५.७५ अर्ब डलर) आम्दानी गरेको छ। गत वर्षको यही अविधिको तुलनामा १.४ प्रतिशतलेमात्र बढी हो। जुन अघिल्लो वर्ष कम्पनीको आम्दानी ३९ प्रतिशतले बढेको थियो।
कम्पनीको नाफा पनि घटेको छ। अघिल्लो वर्ष आम्दानीमा ८ प्रतिशत मार्जिन भएकोमा यो वर्ष घटेर ७.३ प्रतिशतमा सिमित भएको छ।
हुवावेले भने कोरोना भाइरसका कारण संसारभरको व्यापार सञ्जाल प्रभावित हुँदा आम्दानीमा ठूलो बढोत्तरी नहुने अपेक्षाअनुसारकै प्रतिफल आएको बताएको छ।पछिल्लो समय चीनमा भाइरस संक्रमणको जोखिम न्यून भएसँगै सुरक्षाका साधान अपनाएर काम गरिरहेको बताएको छ।
अमेरिकी प्रतिबन्धका बाबजुद सन् २०१९ अन्तिमसम्म राम्रै आम्दानी गरिरहेको कम्पनीको आम्दानी कोरोनाका कारण ओरालो लागेको छ।
कोरोनाका कारण संसारभरका ठूला कम्पनीको आम्दानी निरन्तर ओरालो लागिरहेको छ। यद्यपी यहीबीच केही सूचना प्रविधि कम्पनीको व्यापारमा भने खासै फरक परेको छैन।