एनसेलका प्रिपेड ग्राहकले आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य अवस्थामा भएपनि आफन्तसँग सम्पर्कमा रहिरहन सक्ने भएका छन्।
ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क ५ रुपैयाँ पछि तिर्नसक्ने कम्पनीले बताएको छ।
एनसेलले वैशाख ५ (शुक्रबार) देखि आफ्ना प्रिपेड ग्राहकका लागि यो प्याक उपलब्ध गराउँदै आएको छ।
यस योजनाअन्तर्गत ग्राहकले ५ रुपैयाँमा २५० एमबी डेटा, २५ मिनेट अन नेट भ्वाइस कल र २५ वटा अन नेट एसएमएस सहितको बण्डल सेवा सुचारु गर्न सक्छन्।
शुन्य मेन ब्यालेन्स भएका वा ब्यालेन्स ५ रुपैयाँ भन्दा कम भएका ग्राहकले पछि शुल्क तिर्ने गरी यो प्याक सुचारु गरेर सम्पर्कमा रहिरहन सक्ने भएका हुन्।
यो महामारीको समयमा ग्राहकले ब्यालेन्स रिचार्जमा कठिनाइ हुनसक्ने अवस्थालाई मध्य नजर गर्दै यो सुविधा ल्याएको एनसेलले बताएको छ।
एनसेलकाअनुसार एक महिनाकोदेखि भ्वाइस, डेटा र एसएमएस लगायत कुनै पनि सेवा प्रयोग नगरेका र मेन ब्यालेन्स ५ रुपैयाँ भन्दा कम भएका ३६ लाख प्रिपेड ग्राहकलाई सेवा दिन यो प्याक ल्याएको हो।
यस अन्तर्गतको प्राप्त डेटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति ९ बजेदेखि अर्को दिनको विहान ९ बजेसम्म प्रयोग गर्न सक्छन्। प्राप्त सेवाहरु ७ दिनको लागि मान्य रहने एनसेलले जानकारी दिएको छ।
ग्राहकले एस्ट्रिक्स ९९८८एस्ट्रिक्स५५ह्यास वा एस्ट्रिक्स९९८८ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन्। आफ्नो मेन ब्यालेन्स रिचार्ज गरेपछि प्याकको तोकिएको शुल्क श्वतः काटिने बताइएको छ। यस बाहेक अन्य शुल्क भने लाग्दैन।
साथै एनसेलले ‘स्टे होम डेटा प्याक’को समयसिमा ७ दिनबाट बढाई १० दिन पुर्याएको छ।
ग्राहकले १५ जिबीको ‘स्टे होम डेटा प्याक’ २३० रुपैयाँ (कर सहित २९३.६९ रुपैयाँ) मा सुचारु गर्नसक्ने कम्पनीको भनाइ छ।