आर्टिफिसियल इन्टेलिजेन्स सीप तथा शैक्षिक समाधान प्रदायक फ्युजमेसिन्स् इंकले फ्युज क्लासरूम सुरू गरेको छ।
फ्युज क्लासरुम विद्यार्थीलाई ध्यानमा राखेर र अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेनससँग मिलाएर तयार पारिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार एआइ, मोबाइल र वेब एप्लिकेसन प्रविधिले स्कुलहरूलाई एआइ युगमा प्रवेश गराउने र यो प्ल्याटफर्मले विद्यार्थीलाई रचनात्मक अनलाइन सिकाइ अनुभव दिनेछ। यसमा प्रगति अनुगमन, प्रश्नको जवाफ र पाठ्यक्रममा विद्यार्थीलाई आवश्यक सहयोग दिन सक्ने गरी एआइ विशेषता समावेश गरिएको छ।
फ्युज क्लासरुमले कक्षाकोठा बाहिरका शैक्षिक परामर्श, समुदाय निर्माण र अलुम्नाइजस्ता अन्य स्कुल गतिविधिलाई समेत मद्दत गर्ने र स्कुल अनुभवलाई अन्य विविध आयाममा एआइ प्रयोग मार्फत् रुपान्तरणतर्फ अग्रसर गराउने कम्पनीले जनाएको छ।
‘फ्युजमेसिन्सको मुख्य उद्देश्य एआइको लोकतन्त्रीकरण हो। हामी एआइ प्रयोग गरी कसरी थप राम्रो बनाउन सकिन्छ भनेर निरन्तर सोचिरहेका छौं,' कम्पनीका संस्थापक एवम् सिइओ समीर मास्केले भने, 'एक वर्षभन्दा अगाडिदेखि हामीले विद्यार्थीका निम्ति उपयोगी अनलाइन सिकाइ अनुभव गर्न सक्ने र कक्षाकोठाभन्दा बाहिर पनि स्कुलका प्रमुख क्रियाकलाप अगाडि बढाउन सकिने किसिमको शैक्षिक प्ल्याटफर्म निर्माणको काम थालेका हौं।'
'कोरोनापछि हाम्रो निर्धारित कार्यतालिकाभन्दा पहिल्यै स्कुलहरूलाई आवश्यक परेको यो सहयोगका लागि फ्युज क्लासरुम सुरू गर्ने निर्णय गरेका छौं। यसले विद्यार्थीको वैयक्तिक सिकाइ र परामर्शसहित सिकाइ अनुभवमा सुधार ल्याउने विश्वास हामीलाई छ,' कोलम्बिया युनिभर्सिटीमा सहप्राध्यापकका रुपमा कार्यरत डा. मास्केको भनाइ छ।
फ्युजमसिन्स्का नेपाल, अमेरिका, क्यानाडा र डोमिनिकन गणतन्त्रसमेत चार मुलुकमा रहेका कार्यालय छन्। यसले संसारभरका शैक्षिक संस्थामा एआइसम्बन्धी विश्वव्यापी विशेषज्ञता पुर्याउन उद्देश्य राखेको छ।