कोरोना नियन्त्रण र रोकथाममा प्रविधिको क्षेत्रबाट उल्लेख्य प्रयास भइरहेको भन्दै सरकारले सबैलाई एकिकृत गरेर प्रभावकारितामा जोड दिन आवश्यक रहेको बताएका छन । शनिवार नेपाल सरकारका प्रतिनिधिसहित विभिन्न विज्ञहरुसँग भएको छलफलमा इन्टिग्रेटेड ट्रेसिङ तथा स्व परिक्षण एप ल्याउनु जरुरी हुने कुरामा जोड दिइएको हो।
पूर्वमन्त्री गणेश शाहको संयोजकत्वमा आयोजना भएको छलफल कार्यक्रममा नाष्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले धेरै युवा, स्टार्टअप र सस्थाहरुले नयाँ इन्नोभेसन, एप्लिकेशन, रोबोट, भेन्टिलेटर लगायतका प्रविधिहरुको विकासमा काम गरिरहेको हुँदा, यसलाई अझ प्रभावकारी बनाउन नेपाल सरकार र नाष्टले सहकार्य गर्ने बताए ।
नेपाल टेलिकमले सुरुदेखि नै कोरोना नियन्त्रणमा विभिन्न प्रविधि र प्रयोगबाट काम गरिरहेको बताउदै भइरहेको प्रवन्ध निर्देशक डिल्लि अधिकारीले बताए । ट्र्याकिङ र ट्रेसिङमा सरकारसँग सहकार्य गरि टेलिकमले काम गरिरहेको बताउँदै उनले टेलिकमबाट सञ्चालित कोरोना सर्भे प्रभावकारी भएको जानकारी दिए ।
प्रदेश ५, आइसिटी बोर्डका कार्यकारी निर्देशक अनुप बास्कोटाले प्रदेश ५ सरकारले ल्याएको नेपाल ट्रेसिङ एप्लिकेशन मार्फत कारोना संक्रमितलाई ट्राक गर्न सकिने भएपनि अझै नेपालमा प्रविधिको कार्यान्वयनमा समस्या रहेको बताए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको प्रविधि र इन्नोभेसन उप समितिका संयोजक प्रा.डा रमेश मास्केले अहिले विकास भइरहेका प्रविधिहरुलाई प्रोत्साहन गर्दै जानुपर्ने बताए ।
कार्यक्रममा एआई विज्ञ डा. विशेष खनाल, राम लक्ष्मण रिमाल, पाइला टेक्नोलोजीका विनय राउत, नक्साका को फाउण्डर उत्तम पुडासैनी, स्मार्टपालिकाका मनोज भट्टराई लगायतले कोरोना नियन्त्रणमा आफुले गरिरहेका प्रयास र सरकारले गर्नुपर्ने संयोजन र सहयोगको बारेमा विचार राखेका थिए । पूर्वमन्त्री गणेश शाह तथा शिक्षा मन्त्रालयको कोरोना नियन्त्रण सहयोग समितिका संयोजक गणेश शाहले अब सरकारले सबैको सहयोग र सहकार्यमा भइरहेका प्रविधिलाई व्यवस्थित गरि दुरदराजसम्म पहुच विस्तार गर्न लाग्नुपर्ने र यसतर्फ आवश्यक पहल गर्ने बताए ।