लकडाउन अवधिको बिजुली, टेलिकमकाे इन्टरनेट तथा डाटा प्याकेजमा छुट दिइने भएको छ।
१४ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल दूरसंचार कम्पनीले लकडाउन अवधिको इन्टरनेट तथा डाटा प्याकेजमा २५ प्रतिशत छुट दिने व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ। साथै निजी सेवा प्रदायकले समेत यस्तो छुट दिने व्यवस्था मिलाउने निर्णय भएको छ।
त्यस्तै नेपाल विद्युत प्राधिकरणले मासिक १५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहस्थ ग्राहकको विद्युत महशुलमा २५ प्रतिशत छुट दिने कार्यलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ।
त्यस्तै मासिक २५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहस्थ ग्राहकलाई लकडाउनको अवधिभर विद्युत महसुलमा १५ प्रतिशत छुट दिने निर्णय बैठकले गरेको छ।
लकडाउन अवधिमा बन्द रहेका उद्योगहरुको डिमाण्ड शुल्क छुट वा सहुलियत दिने विषयमा नेपाल विद्युत प्राधिकरणले आवश्यक व्यवस्था मिलाउने व्यवस्था गरिने भएको छ।
विद्युत, खानेपानी, टेलिफोन तथा इन्टरनेट शुल्कको फागुनदेखि जेठ महिनासम्मको महसुल भुक्तानी असार मसान्तसम्म बुझाएमा विलम्व वापत लाग्ने जरिवाना तथा अतिरिक्त शुल्क छुट गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ।
मागभन्दा बढी उत्पादन भई वचत हुने विद्युत प्राधिकरणले तोकेको अवधि र समयमा उपयोग गर्ने उत्पादनमूलक उद्योग प्रतिष्ठानलाई सो अवधिमा खपत गरिएको विद्युत महसुलमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्थालाई लकडाउनको अवधिभर निरन्तरता दिने भएको छ।