मुलुकमा चैत ११ गतेदेखि लकडाउन छ। कोरोना भाइरस संक्रमण रोकथाम गर्न भन्दै सरकारले घोषणा गरेको लकडाउनका प्रभावित जनतालाई राहत दिनका लागि सरकारले पहिलोचरणमा चैत १६ गते केही निर्णय गरेको थियो।
जुन निर्णयमा इन्टरनेट सेवाको शुल्कमा २५ प्रतिशत दिने भन्ने थियो। छुट दिनका लागि सेवाप्रदायकहरुलाई अनुरोध गर्ने सरकारले निर्णय गरेको थियो।
छुट दिनका लागि अनुरोध गर्ने निर्णय गरेपछि सेवाशुल्क नबुझाएका कारण धमाधम इन्टरनेटको लाइन काटिन थालेपछि सरकारले नेपाल दूरसञ्चार प्राधिकरण मार्फत् इन्टरनेट सेवाप्रदायकहरुलाई लकडाउन अवधिमा शुल्क नबुझाएकै कारण लाइन नकाट्न निर्देशन दियो।
यो निर्देशनपछि इन्टरनेट सेवा लिइरहेकालाई लागेको थियो कि पैसा नतिरे पनि लाइन काटिंदैन। तर त्यसो होइन। लाइन काटिएको छ। र निर्देशन दिने स्वयम् प्राधिकरणले पनि शुल्क नबुझाएकै कारण लाइन नकाट्न भन्ने सोझो निर्देशन नदिएको बताउछ।
पछिल्लो समय लाइन काटिन थालेपछि सेवाप्रदायक तथा नियमक दुबैले लाइन नकाट्ने निर्देशन नै नभएको बताइरहेका छन्।
सेवाप्रदायकहरुले लकडाउनको समयमा पनि इन्टरनेटको ब्यान्डवीथ किन्नुपर्ने जसका लागि विदेशमा पैसा पठाउनुपर्ने तर यहाँ उपभोक्ताबाट पैसा नउठ्दा समस्या हुने भन्दै बिलिङलाई कडाइ गरिएको बताएका छन्।
नेपालमा तारबाट इन्टरनेट दिनेहरुको एसोसिएसन नेपाल इन्टरनेट सेवाप्रदायक संघका अध्यक्ष भोजराज भट्ट यस्तोबेला उपभोक्ताले स्वतस्फूर्त अनलाइन भुक्तानी गरेर सेवाप्रदायकहरुलाई सहयोग गर्नुपर्ने बताउछन्।
'यहीबेला हाम्रो एकातिर ब्यान्डविथ कस्ट बढेको छ। अर्कोतिर सेवा सूचारु राख्नका लागि कर्मचारी परिचालनमा पनि अतिरिक्त खर्च हुन्छ। हामीसँग त्यस्तो धेरै रिजर्भ पनि हुँदैन' उनले भने।
लकडाउनका कारण काउन्टरमै आएर भुक्तानी गर्न कठिन भएपनि इन्टरनेटका ग्राहकले अनलाइन भुक्तानी गर्न पनि सक्दैनन् भनेर पत्याउने आधार नभएकाले बिलिङ कडाइ गरिएको उनको भनाइ छ। यद्यपी सेवाप्रदायकहरुले जेष्ठ नागरिक ग्राहक भएका लाइनहरु भने नकाटिएको उनले बताए।
देशमा लकडाउन भएपनि इन्टरनेट ब्यान्डवीथ किनेर ल्याउनुपर्ने र अहिलेको जस्तै पैसा नउठे उधारोमा विदेशीले नदिने भएकाले समस्या आउनसक्ने उनीहरुले चेतावनी दिएका छन्।
उपभोक्ताको लाइन नकाट्ने हो भने सरकारले सेवाप्रादायकहरुका लागि आवश्यक नगदका लागि सहुलियत ऋण वा अन्य कुनै वित्तीय व्यवस्थापन गरिदएपछिसमस्या नहुने भट्टले जानकारी दिए। तर आफूहरु भने उभोक्ताबाट पैसा उठाएर सञ्चालन खर्च तथा सामन्य मुनाफा आर्जन गरिहरेकाले १/२ महिनाकै लागि ब्यान्डविथ लागत बेहोर्न नसक्ने अवस्थामा रहेको उनको भनाइ छ।
पछिल्लो समय इन्टरनेट खपत बढ्दा ब्यान्डविथ लागत झनै बढेको भट्टले बताए। उनकाअनुसार लकडाउनपछि नेपालमा इन्टरनेट प्रयोगक २५ प्रतिशतले बढेको छ। स्थानीय डेटाको प्रयोग त्योभन्दा धेरै छ।
पहिले दिनमा निश्चित समयमा धेरै प्रयोग हुने इन्टरनेट अहिलेदिनभर उत्तिकै रहेको र धेरै मान्छे घरमै बस्दा मोबाइल डेटाको ट्राफिक पनि तारबाट दिइने इन्टरनेटमै आएकाले माग खपत बढेको भट्टको भनाइ छ।
अनलाइनबाटै पैसा तिर्नका लागि उपभोक्तालाई भनेको यदि कुनै पनि हालतमा भुक्तानी गर्ननसक्ने अवस्थामा भएका ग्राहक भएमात्र लाइन नकाट्न निर्देशन दिएको नियमक निकाय प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए।