एनसेलका ग्राहकहरूले अझै सजह रूपमा डिजिटल वालेटहरू र एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट सिधैं डेटा र भ्वाइस प्याकहरू लिनसक्ने भएका छन्।
यसका लागि एनसेलले विभिन्न तीन मोबाइल वालेटहरूसँग साझेदारी गरेको छ। आफ्ना खुद्रा विक्रेताहरूलाई पनि प्याकहरू बिक्री गर्नसक्ने सुविधा प्रदान गरेको छ।
एनसेलले खल्ती, प्रभु–पे र युनी–पेसँग सहकार्य गरेको हो।
अब यी वालेटका प्रयोगकर्ताले आवश्यकताअनुसार सजिलै एनसेलका विभिन्न डेटा र भ्वाइस प्याकहरू किन्न सक्ने बताइएको छ।
सुरुको चरणमा ग्राहकले यी वालेटमार्फत वा वालेटसँग जोडिएको बैंक खाताबाट विभिन्न ६ वटा डेटा प्याक र ६ वटा भ्वाइस प्याक सुचारु गर्न सक्छन्।
'डिजिटल वालेटहरूसँगको सहकार्यमा हाम्रा डेटा र भ्वाइस सेवाअन्तर्गत ग्राहकहरूले मन पराएका एक दर्जन प्याकहरू सिधै लिन सकिने गरी उपलब्ध गराइएका छन्' एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तले भने, 'डिजिटाइजेसन प्रक्रियाअन्तर्गत हाम्रा खुद्रा विक्रेताहरूलाई ग्राहकमाझ सिधै सेवा प्रदान गर्न सक्षम बनाउन पाएकोमा हामी खुशी छौं।'
ग्राहकले एनसेलका आधिकारिक खुद्रा विक्रेता, खल्ती, प्रभु–पे र युनी–पे मार्फत करसहित मात्र ९८.९९ रुपैयाँमा २,१०० एमबी डेटा किन्न सक्छन्।
यो डेटा ग्राहकले प्रत्येक दिन ३०० एमबीका हिसाबले ७ दिनसम्म चलाउन सक्छन्। त्यस्तै करसहित मात्र ४९८.८३ रुपैयाँमा १५हजार एमबी लिन सकिन्छ। यो प्याकमा ग्राहकले दैनिक ५०० एमबी डेटा ३० दिनसम्म पाउने एनसेलले बताएको छ।
डेटा सेवाको आवश्यकता अलि बढी रहेका ग्राहकले यी माध्यमबाट करसहित ९९८.९७ रुपैयाँमा ३६,००० एमबी लिन सक्छन्।
यस प्याकअन्तर्गत ग्राहकहरूले दैनिक रूपमा १२०० एमबी ३० दिन पाउँछन्।
प्याकअन्तर्गत उपलब्ध हुने डेटा भोलुम सकिए पनि प्याकको समयावधि बाँकी रहेसम्म मेन ब्यालेन्सबाट रकम नसकिने कम्पनीको भनाइ छ।