नेपाल टेलिकमले नवलपरासी जिल्लामा रहेको दूरसञ्चार कार्यालय बर्दघाटको पुरानो प्रविधिको तारवाला फोनलाई फाइबरमा आधारित एफटिटिएच सेवाले पूर्णरुपमा विस्थापित गरिएको छ।
प्रदेश नम्बर ५ मै पहिलोपटक गरिएको उक्त काम बुधबार सम्पन्न गरिएको हो।
बर्दघाटमा २०५६ साल चैत महिनामा १५० लाइन क्षमताको सी डट एक्सचेञ्जबाट टेलिफोन सेवा शुरु गरिएकोमा २०६० सालमा १००० क्षमताको जे र्याक प्रणाली जडान गरिएको थियो।
२०७२ सालमा ८९६ लाइन क्षमताको एमसान जडान गरी इन्टरनेट सेवा विस्तार गरियो। त्यसपछि ग्राहकको अत्यधिक मागका कारण ३००० लाइन क्षमताको ओएलटी एक्सचेञ्ज जडान गरीे ०७६ साउन २३ गतेबाट अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवाको वितरण शुरु गरिएको थियो।
नयाँ एक्सचेञ्जबाट ग्राहकले टेलिफोन र इन्टरनेट सेवा उपयोग गर्न सक्दछन् भने कम्पनीले भविष्यमा वितरण गर्ने आइपिटिभी सेवा पनि प्राप्त गर्नसक्ने बताइएको छ।
एक कार्यक्रममा बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा वस्यालले ग्रामीण भेगमा पनि उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन अनुरोध गरे। उनले नगरका सबै जनतालाई सञ्चार सेवा उपलब्ध गराउनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
नेपाल टेलिकमले मुलुकभरी हालसम्म ७० हजारभन्दा बढी एफटिटिएच लाइन वितरण गरिसकेको छ। प्राविधिक रुपले सम्भव हुने अन्य स्थानहरुमा पनि कम्पनीले सेवाको स्तरोन्नति गर्दै लैजाने बताएको छ।