लकडाउनमा अन्य व्यवसाय खस्किएपनि मोबाइलको बिक्री राम्रै भएको व्यवसायीहरूले बताउँदै आएका छन्। लकडाउनमा अनलाइन कक्षा र अन्य कार्यालयका कर्मचारीले पनि घरै बसेर काम गर्ने भएकाले मोबाइलको माग बढ्यो। बाहिरी पसल बन्द भएपनि अनलाइन स्टोरबाट मोबाइल बिक्री भयो। नेपालमा विभिन्न ब्राण्डका मोबाइलले नेपाली बजार कब्जा गरेका छन्। त्यसमध्ये एक होे ‘शाओमी’।
लकडाउनको समयमा शाओमी मोबाइलको बजार कस्तो रह्यो? कुन मूल्यका मोबाइल बढी बिक्री भयो? मोबाइललको स्टक कति छ? र अहिले मोबाइल आयातको अवस्था के छ? लगायतका विषयमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीसँग गरिएको कुराकानिको अंशः
लकडाउनमा शाओमीका स्मार्टफोनहरुको बजार कस्तो रह्यो?
कोरोना भाइरसले चैत र वैशाख महिनामा नेपालको धेरै जसो व्यवसायमा असर गर्याे। लकडाउनको कारण पूर्ण रुपमा बन्द हुँदा आपूर्ति समेत अवरुद्ध भयाे। हामीले यो समयमा हाम्रा रिटेलर र वितरकहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न उचित कदमहरु चाल्यौं र सामाजिक दुरी कायम गरेर अनलाइन स्टोरबाट बेच्यौं। लकडाउनपछि शाओमीको बिक्री झन् बढ्यो।
मोबाइलको स्टक कति छ?
शाओमी नेपालसँग विभिन्न रेञ्जका उत्पादनहरु छन् जुन खरिदका लागि उपलब्ध छ। हामीसँग बजेट सेगमेन्टमा विभिन्न रेञ्जका स्मार्टफोनहरु छन् जसमा नयाँ विशेषताहरु र अडियो उत्पादनका सिरिजहरु छन्। जुन हाम्रा प्रयोगकर्ताहरुले छनौट गर्न सक्नेछन्।
हामीले प्रयोगकर्ताको आवश्यकता र विभिन्न मुल्य बिन्दुको माग अनुसार सम्बन्धित उत्पादनहरुको सफलतापूर्वक पोर्टफोलियो सृजना गरेका छौं।हालै उपलब्ध उत्पादनहरुमा रेडमी नोट ९, रेडमी ८, रेडमी ८ए डुअल रहेका छन्।
लकडाउनले मोबाइल आयात भएको छैन भन्ने सुनिएको छ। शाओमीका फोन आयात भएको छ की छैन?
हामीले हालै नेपालमा पछिल्ला दुई महिनाको अवधिमा रेडमी नोट ९, रेडमी नोट ९ प्रो, मी नोट १० लाइट र मी १० सार्वजनिक गरेका छौं। यी सबै उत्पादनहरु खरिदका लागि उपलब्ध छन् र हामी आशावादी छौं कि देशमा अवस्था राम्रो हुँदै गएपछि अर्को त्रैमासिकमा हामी अझै बढी उत्पादनहरु ल्याउँछौं।
लकडाउनमा कुन मूल्यका फोनहरु बढी बिक्री भए ?
सबै मूल्यका फोनले आश्चर्यजनक प्रतिकृया पाएको छ। लकडाउन र सामाजिक दुरीले हाम्रो वर्तमान जीवनशैलीमा स्मार्टफोनको महत्वलाई स्थापित गरेको छ। हामीले इन्ट्री लेवल स्मार्टफोनहरुमा ठूलो माग देखेका छौं। रेडमी ८, रेडमी ८ए, ८ए डुअल र रेडमी नोट ८ ले विशेष प्रदर्शन गरेको छ। २० हजार मुनिका स्मार्ट बढी बिक्री भए।
अनलाइन प्लेटफर्मका लागि हामी कुन–कुनसँग जोडिएका छौं?
हामीले हाल मी फ्यान र प्रयोगकर्ताहरुका लागि हाम्रा उत्पादनहरु अनलाइनमा उपलब्ध गराउन नेपालका दुई ठुला ई—कर्मश पोर्टलहरु दराज र सस्तोडिलसँग साझेदारी गरेका छौं। यी दुवै ब्राण्डहरुले हामीसँग नजिकै रहेर काम गर्छन र हाम्रो सहकार्य समय—समयमा सेल्स इभेन्ट, चार्डपर्वसँग सम्बन्धित अभियानहरु र अन्य परियोजनामा सहभागिता जनाउँदै विस्तार हुन्छ।
नयाँ आर्थिक वर्ष सुरू भइसकेको छ। मोबाइल बिक्रीको अवस्था के छ?
लकडाउनको दुई महिना बाहेक २०१९ को पहिलो त्रैमासिक र सन् २०२० को पहिलो त्रैमासिक तुलना गर्ने हो भने हामीले यस वर्ष बिक्री आकंडामा १५० देखि २००५ सम्म वृद्धि देखेका छौं। उक्त माग वैशाखपछि पनि जारी रहेकाले हामीले परिणामस्वरुप देशमा नयाँ स्मार्टफोनहरुको श्रेणी सार्वजनिक गरेका छौं।
बहुप्रतीक्षित रेडमी नोट ९ सिरिज, मी नोट १० लाइट र फ्ल्यागसीप डिभाइस मी १० सबै पछिल्लो दुई महिनामा सार्वजनिक गरिएको थियो र उपभोक्ताहरुबाट अद्भुत प्रतिकृयाहरु प्राप्त गरेको छ।
यति मात्र होइन, विश्वव्यापी क्वार्टली मोबाइल फोन ट्रयाकर आईडीसीका अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा हामी नेपालको नम्बर १ स्मार्टफोन बन्न सफल भएको कुरा शेयर गर्न पाउँदा गर्वान्भित छौं।
यो उपलब्धि नेपालमा आधिकारिक रुपमा संचालन भएको करिब दुई वर्षभन्दा कम समयमा हासिल गर्न सफल भएका छौं।