ल्यान्डलाइन फोनमा आएको फोनलाई मोबाइल नम्बरमा ट्रान्सफर गर्नमिल्ने सुविधा नेपाल टेलिकमले ल्याएको छ।
आएका सबै कललाई सिधै वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैंले कल ट्रान्सफर गर्न सकिने भएको हो।
यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन कलहरु नछुटाई अर्को फोनमा उठाउन समेत सकिने टेलकमले जानकारी गराएको छ।
यो सेवा ग्राहकले नजिकैको नेपाल टेलिकमको कार्यालयमा गई निःशुल्क रुपमा सुचारु गराउन सक्ने कम्पनीले बताएको छ।
सेवा प्राप्त भएपछि ग्राहक स्वयंले नै चार अंकको लक कोड नम्बर आवश्यकताअनुसार प्रयोग गरेर टाइरेक्ट कल अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा 'ट्रान्सफर' हुने व्यवस्था मिलाउन सक्नेछन्।
कल गरिएको नम्बर व्यस्त भएमा 'बिजी ट्रान्सफर' अर्थात् व्यस्त हुँदा तत्काल अर्को नम्बरमा ट्रान्सफर हुने तथा 'नो एन्सर ट्रान्सफर'मा चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा 'ट्रान्सफर' हुने सुविधा आवश्यकता बमोजिम उपयोग गर्न सकिने टेलिकमको भनाइ छ।
'कल ट्रान्सफर' वा अन्य प्रयोजनका लागि प्रयोग हुने 'लक कोड' ग्राहक आफैंले परिवर्तन पनि गर्न सकिन्छ। यी सुविधाहरु देशभरका नेपाल टेलिकमका ल्यान्डलाइन नम्बरहरुमा उपलब्ध छन्। सबै सुविधाहरु एक्टिभेसन र डिएक्टिभेसन गर्न आफ्नो एक्सचेञ्ज अनुरुप केही किवोर्डहरु डायल गर्नुपर्ने हुन्छ। जसको विवरण नजिकको दूरसञ्चार कार्यालय वा कम्पनीको वेबसाइटबाट प्राप्त गर्न सकिने टेलिकमले बताएको छ।