लकडाउनका कारण धेरै व्यापार खुम्चिएको छ। बजारमा धेरै व्यापारीहरु भाडा पनि तिर्न धौधौ भइरहेको बताइरहेका छन्। तर मोबाइलको कारोबार भने लकडाउन खुल्नेवित्तिकै उछाल आएको छ।
एकातिर नियमित हवाइ उडान नहुँदा पर्याप्त आयात हुन नपाएका कारण उपभोक्तालाई रोजाइको अवसर न्यून छ भने अर्कोतिर उपभोक्ताको भीडभाड पनि उत्तिकै छ।
कतिपय ब्रान्डका नयाँ मोडल त बजारमा अहिले स्टक नै सकिएको छ। सामसङ,शाओमी,हुवावे जस्ता ब्रान्डका मोबाइल बजारमा अहिले खासै छैनन्।
ओप्पो,भिभो,रियलमी जस्ता ब्रान्डका फोनमा पनि सिमित मोडलमात्र रहेको व्यापारीहरुले बताएका छन्।
काठमाडौंको न्यूरोडमा रहेको मोबाइल कम्प्लेक्स ताम्राकारमा अहिले व्यवसायीहरुलाई माग धान्न भ्याइ नभ्याइ छ। नयाँ मोडेलका स्मार्टफोन खोज्ने ग्राहकलाहरुलाइ उनीहरुले त्यत्तिकै फर्काउने गरेका छन्।
न्यूरोडका व्यापारीहरुका अनुसार अघिल्ला वर्षहरुमा दशैमा हुनेजस्तो कारोबार यो वर्ष अहिले भइरहेको छ। लकडाउनले तीन महिना बन्द रहेका पसलहरु खुल्नेवित्तिकै भरिभराउ भएका छन्।
पसल भरिभराउ भएपनि भनेअनुसारको फोन नपाउँदा निराश बनेर फर्किनुपर्ने बाध्यता रहेको न्यूरोड मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले जानकारी दिए।
'अहिले मागअनुसारको मोबाइलको आपूर्ति छैन। उपभोक्ताले खोजेस्तो फोन पाइरहेका छैनन्। कम्पनीहरुले नै फोन उपलब्ध गराउन सकेका छैनन्। उनीहरुले नदिएपछि हामीले कसरी दिनु' साउदले सेतोपाटीसँग भने।
लकडाउनका कारण नियमित उडान बन्द भएपछि आयात नै न्यून भएको छ। कहिलेकाही चार्टर्ड उडानबाट आयात भएपनि त्यसले बजारको माग धान्न नसकेको व्यवसायीहरुले बताएका छन्।
बजारमा आपूर्ति कम भएपछि मोबाइलमा छुट पाइन छाडेको छ।
लकडाउनका कारण अनलाइन सिकाइ बढेका कारण मोबाइलको माग बढेको साउदको बुझाइ छ।