विद्यालयहरुको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले नेपाल टेलिकमलाई कुनै जानकारी नगराई साउन १५ गते ‘ई–लर्निङको प्याकेज’ सुविधा सम्बन्धमा भन्ने परिपत्र आफ्नो वेबसाइटमा राखेकोप्रति कम्पनीको ध्यानाकर्षण भएको छ।
कम्पनीसँगको सकारात्मक छलफल अघि बढिरहेको समयमा गैरजिम्मेवार रुपले कम्पनीलाई दोषारोपण गर्ने शब्दावली सहितको उक्त परिपत्रप्रति कम्पनीको ध्यानाकर्षण भएको हो।
आफू अनुकुल कुनैपनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमती नरहेता पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोग गरेको भन्दै कम्पनीले असहमती व्यक्त गरेको छ।
नेपाल टेलिकमले ई–शिक्षा प्याकेज वैशाख १४ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो। यस प्याकेजको प्रयोग गरी हाल ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थी र शिक्षकहरुले अनलाइन कक्षामार्फत नियमित अध्ययन र अध्यापनका काम सुचारु गरिरहेका छन्।
अनलाइन अध्ययनका लागि उपलब्ध एप्लिकेसनहरुमध्ये जुनसुकै एप्लिकेसनहरु प्रयोग गर्न ५ सयमा १८ जिबी डाटा ई–शिक्षा प्याकेजमार्फत उपलब्ध गराइरहेको छ।
सोही क्रममा प्याबसनले कम्पनीसँग सहकार्य गर्न पत्राचार गरेपछि विभिन्न चरणमा छलफल भएको थियो।
यस कम्पनी र संगठनबीच भएको छलफलपछि तत्कालको लागि कम्पनीले उपलब्ध गराइरहेको ई–शिक्षा प्याकेज सम्बन्धी विवरण संगठनले आफ्नो वेबसाइटमा समेत प्रकाशित गरेको थियो।
साथै अनलाइन शिक्षाको लागि मात्र उपयोगी हुने डाटा प्याकेज सम्बन्धमा पनि कम्पनी सकारात्मक भई थप छलफल भइरहेको थियो ।
कम्पनीकाअनुसार यो विषम परिस्थितिमा मुलुकभर पुन पठनपाठनको वातावरण तयार गर्न कम्पनीले महत्वपूर्ण पहल अवस्थामा सो संगठनसँगको छलफल बमोजिम नै कम्पनीले सेवा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुर्याइसकेको थियो। तर, पनि विना जानकारी उक्त परिपत्र वेवसाइटमा राखेकोप्रति कम्पनीले असन्तुष्ट व्यक्त गरेको हो।
काठमाडौं, साउन १९