चिनियाँ कम्पनी जेटईले ल्याउन लागेको नयाँ स्मार्टफोनमा नयाँ प्रयोग हुने बताइएको छ। विभिन्न अन्तर्राष्ट्रिय रिभ्यु तथा ब्लग साइटहरुमा उल्लेख भएअनुसार जेटईको अक्सन २० फाइभजी फोन अहिलेसम्म अरु फोनमा नभएको फिचर्ससहित आउने दाबी गरिएको छ।
जेटईको यो स्मार्टफोनमा डिस्प्लेभित्रै क्यामेरा हुने बताइएको छ। अहिलेसम्मका स्मार्टफोनहरुमा क्यामेरा बडी वा डिस्प्ले बाहिर देखिएको हुन्छ। यो फोनमा पहिलोपटक बडीभित्रै क्यामेरा सेट भएर आउने छ।
यो फोनमा ६४ मेगापिक्सेलको प्राइमेरी सेन्सर हुने छ। फाइभजी नेटवर्क सपोर्ट गर्ने यसको डिस्प्ले ६.९२ इन्चको हुने बताइएको छ।
४१०० एमएएच क्षमताको ब्याट्री हुने यो फोनको सेल्फी क्यामेराको सेन्सर ३२ मेगापिक्सेलकोव हुने छ। यो फोन सेप्टेम्बर १ मा सार्वजनिक हुने बताइएको छ।
जेटईका स्मार्टफोनका नयाँ मोडल तथा उच्च मूल्य श्रेणीका मोडल नेपाली बजारमा धेरै आउँदैनन्।
विश्वबजारमा चिनियाँ कम्पनीहरुमाथि बौद्धिक सम्पत्ति चोरीको आरोप लाग्दै आएपनि पछिल्लो समय चिनियाँ कम्पनीहरुले नयाँ नयाँ प्रयोग गरिरहेका छन्। इनडिस्प्ले फिंगरप्रपिन्ट सेन्सर,पपअप क्यामेरा, उच्च मेगापिक्सेल सेन्सरजस्ता प्रयोग चिनियाँ स्मार्टफोन निर्माता कम्पनीहरुले पहिलोपटक प्रयोगमा ल्याएका थिए।