पछिल्लो समय टिकटक विवादित बनिरहेको छ।
भारतमा यो प्रतिबन्ध भइसक्यो भने अमेरिकामा पनि यसलाई रोक लगाउने तयारी भइरहेको छ। टिकटकले प्रयोगकर्ताको विवरण चोरेर 'जासूसी' गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ।
यसका साथै टिकटकले धेरै भ्रम र अफवाह फैलाएको भन्ने आरोप पनि खेपिरहेको छ।
यही समस्या मध्यनजर गर्दै टिकटकले यस्ता भ्रमहरू नियन्त्रण गर्न र सही सूचना दिन आफ्नै वेबसाइट र ट्विटर सुरू गरेको छ।
टेक हिन्दुस्तान टाइम्सका अनुसार टिकटकले सोमबारदेखि वेबसाइट र टिट्वर गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा चिन्ताको आरोपमा टिकटकलाई औपचारिक रुपमा अमेरिकी सम्पत्ति बेच्न आदेश दिएको केही दिनपछि यो कदम चालिएको पनि हिन्दुस्तान टाइम्सले लेखेको छ।
‘हामी टिकटक वा कुनै पनि विषयबारे गलत सूचना फैलाउने काम समर्थन गर्दैनौं,’ टिकटकले आफ्नो वेबसाइटमा लेखेको छ, ‘टिकटक चीनमा उपलब्ध छैन। यसका अमेरिकी प्रयोगकर्ताको डाटा सिंगापुरमा ब्याकअपका साथ भर्जिनियामा राखिएको छ। यी सबैमा कर्मचारी पहुँचमा कडा नियन्त्रण गरिएको छ।'
अफवाहबारे प्रयोगकर्तालाई प्रष्ट पार्न टिकटकले थप लेखेको छ, ‘टिकटकले कहिल्यै अमेरिकी प्रयोगकर्ताको डाटा चिनियाँ सरकारलाई दिएको छैन। माग्यो भने पनि हामी दिने छैनौं।’
यसैगरी अमेरिकी कम्पनी माइक्रोसफ्टले भने बाइट-डान्स कम्पनीसँग अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्युजिल्यान्डमा भएका बाइट-डान्सका कामहरू किन्ने कुरा गरिरहेको छ सञ्चारमाध्यमहरूले जनाएका छन्। टिकटक बाइट-डान्स कम्पनी अन्तर्गत पर्छ।