नेपाल दूरसञ्चार प्रधिकरणले निर्माणाधिन काठमाडौं-निजगढ द्रुतमार्गमा अप्टिकल फाइबर विस्तार गर्ने भएको छ।
प्राधिकरणले उक्त मार्गमा अप्टिकल फाइबर विस्तारका लागि भन्दै १५ करोड बजेट विनियोजन गरेको छ।
फाइबर कनेक्शनका लागि यो डक्टिङ को काम गर्न नेपाली सेनासँग सहकार्य गरी टेन्डर आब्हान गर्ने प्राधिकरणको कार्ययोजना रहेको छ।
७६ किलोमिटरको उक्त द्रुतमार्ग नेपाली सेनाले निर्माण गरिरहेको छ।
देशमा निर्माण हुने मुख्य नयाँ राजमार्गमा अप्टिकल फाइबर कनेक्टिभिटीको काम पनि सँगै बढाउने प्राधिकरणको रणनीतिअनुसार द्रुतमार्गमा काम गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणले हाल मध्यपहाडी राजमार्गमा विभिन्न सेवाप्रदायक मार्फत् अप्टिकल विस्तारको काम गरिरहेको छ। नेपालको दूरसञ्चार क्षेत्रको नियमक रहेको प्राधिकरणले इन्टरनेट पूर्वाधार पनि निर्माण गर्दै आएको छ।
व्यावसायिक भन्दा पनि कोर पूर्वाधारमा लगानी गर्ने काम प्राधिकरणले गरिरहेको छ।