फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताहरूलाई त्यहाँका स्थानीय र अन्तर्राष्ट्रिय समाचारहरू सेयरमा प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको छ।
एक महिनाअगाडि अस्ट्रेलिया सरकारले फेसबुकलाई भुक्तानीको आदेश दिएपछि फेसबुकले यो चेतावनी दिएको सिएनएनले लेखेको छ।
अस्ट्रेलिया सरकारले अस्ट्रेलियाली सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन मध्यस्थता गर्न गुगल र फेसबुकलाई आदेश दिएको थियो।
उसले एक महिनाअघि सार्वजनिक गरेको अनिवार्य आचारसंहिताको मस्यौदामा व्यावसायिक मिडिया कम्पनीबाट उत्पादित समाचार सामग्री प्रयोग गरेबापत गुगल र फेसबुकले रकम तिर्नुपर्ने उल्लेख छ।
विश्वका अन्य मुलुकले यस्तो प्रयोग गरे पनि असफल भएका छन्, तर अस्ट्रेलियाले आचारसंहितामार्फत नै गुगल र फेसबुकलाई रकम भुक्तानी व्यवस्था गराउने प्रयास गरेको हो।
गुगलले यसअघि नै अस्ट्रेलिया सरकारको मस्यौदा एकतर्फी रहेको र त्यसले डिजिटल अर्थतन्त्रका लागि बाधा सिर्जना गर्ने बताएको छ।
अहिले आएर फेसबुकले भने कुनै खाले समाचारै सेयर गर्न नमिल्ने हुन सक्छ भन्दै अस्ट्रेलियाका प्रयोगकर्तालाई चेतावनी दिएको हो।
'यो हाम्रो रहर होइन, बाध्यता हो,' अस्ट्रेलिया र न्युजिल्यान्ड फेसबुकका म्यानेजिङ डाइरेक्टर विल इस्टनका भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ, 'हाम्रो सुरक्षाका लागि गरिएको हो।'
फेसबुकको यो चेतावनीले अस्ट्रेलियाका प्रयोगकर्तालाई समस्यामा पार्न सक्ने पनि सञ्चारमाध्यमहरूले जनाएका छन्।
गत महिना अस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेनबर्गले गुगल र फेसबुकलाई पहिलो चरणमा लक्षित गरिएको र अन्य डिजिटल प्लेटफर्ममा पनि यो नियम क्रमशः लागू गरिने जानकारी दिएका थिए।
अस्ट्रेलियाका सञ्चारगृहको आर्थिक अवस्थामा सुधार ल्याउन र कर्मचारी कटौतीको समस्या सुल्झाउन यसले थोरै भएपनि मद्दत गर्ने अस्ट्रेलियाली सञ्चारमाध्यमहरूले बताउँदै आएका छन्।
फेसबुकका प्रवक्ताले भने अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सेयरमा प्रतिबन्ध गर्ने बारे थप जानकारी र प्रक्रिया चाँडै सार्वजनिक गर्ने बताएका बिबिसीले लेखेको छ।