मुलुकभरका विद्यार्थीहरुले टेलिकमको ‘ह्याप्पी लर्निङ प्याक’ सस्तोमा सहजै प्रयोग गर्नसक्ने भएका छन्।
नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच इन्टरनेट सेवा प्रयोगका सम्बन्धमा यस्तो सम्झौता भएको हो।
सोमबार भएको सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत भानुराज श्रेष्ठ र प्याब्सनको तर्फबाट उपाध्यक्ष एवं ई–लर्निङ संयोजक दीपिका थापा रिमालले हस्ताक्षर गरेका हुन्।
यसघि भदौ ८ गते टेलिकम र विश्वविद्यालय अनुदान आयोगबीच सम्झौता भइसकेको छ।
यससँगै मुलुकका विश्वविद्यालय, आंगिक क्याम्पस तथा सामुदायिक क्याम्पसहरुका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ता, विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकले उक्त प्याक प्रयोग गर्न पाउने भएका हुन्।
सो प्याकेजका प्रयोगकर्ताले ३ सय १५ रपैयाँमा २४ जीबी र ५० रुपैयाँमा ३५ जीबी डाटा प्रयोग गर्न सक्छन्।
साथै २४ जि.बि डाटा प्याकेजमा २० जिबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्न र बाँकी ४ जिबी डाटा अन्य कुनैपनि एप्लिकेसनको लागि प्रयोग गर्न सकिन्छ।
यसैगरी, ३५ जीबी डाटा प्याकेजमा ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जि.बि डाटा अन्य कुनैपनि एप्लिकेसनको लागि प्रयोग गर्न सकिन्छ।
ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले दिने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ। यी दुवै प्याकेजको समयावधि २८ दिनको हुने कम्पनीको भनाइ छ।