सन् २०२० को पहिलो छ महिना संसारभर कोरोना भाइरसले प्रभावित बनायो। बजारका हरेक क्षेत्रमा यसको प्रभाव परेको छ। उपभोग र उत्पादन घटेको छ। यसैगरी स्मार्टफोनको बिक्री पनि घटेको छ।
विश्लेषण तथा परामर्श फर्म ओमडियाको रिपोर्टअनुसार महामारीकै बीच पनि संसारभर धेरै युनिट बिक्री भएका १० स्मार्टफोनको सूची सार्वजनिक गरेको छ।
लन्डनमा कार्यालय रहेको उक्त संस्थाको अध्ययनअनुसार यो सूचीमा एप्पलका आइफोन र शाओमीको बाहुल्यता छ।
यो सूचीको पहिलो नम्बरमा आइफोन ११ छ। सन् २०२० को पहिलो ६ महिनामा ३ करोड ७७ लाख युनिट बिक्री गरेको कम्पनीले दाबी गरेको छ।
दोस्रो नम्बरमा सामसङको ग्यालेक्सी ए५१ स्मार्टफोन रहेको छ। सामसङले गएको छ महिनामा यो फोन १ करोड १४ लाख युनिट बिक्री गरेको दाबी गरेको छ। एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्नेमध्ये सबैभन्दा धेरै बिक्री हुने फोन पनि यही हो।
धेरै बिक्री हुने तेस्रो नम्बरमा शाओमीको रेडमी नोट ८ रहेको छ। कम्पनीले यो फोन १ करोड १ लाख युनिट बिक्री गरेको जानकारी दिएको छ। त्यस्तो यो सूचीको चार नम्बर पनि रेडमी नोट ८ प्रो रहेको छ।
पाँच नम्बरमा आइफोन एसई रहेको छ। अप्रिलमा सार्वजनिक भएको यो बजेट स्मार्टफोन ८७ लाख युनिट बिक्री भएको छ। त्यस्तै छैटौ नम्बरमा आइफोन एक्सआर छ। सात नम्बरमा पनि आइफोन ११ प्रो म्याक्स रहेको छ।
यो सूचीको आठौ नम्बरमा रेडमी ८ ए छ। नौ नम्बरमा रेडमी ८ रहेको छ। १० नम्बरमा आइफोन ११ प्रो रहेको छ।
ओमिडाले यो सूची कम्पनीहरुले सार्वजनिक गरेको बिक्री विवरणअनुसार तयार पारेको उल्लेख गरेको छ।