चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावे आफैले निर्माण गरेको इन्टरप्राइज अपरेटिङ सिस्टम मोबाइल फोनमा पनि प्रयोग गर्ने भएको छ। सन् २०२१ भित्रै स्मार्टफोनमा पनि प्रयोग गर्ने कम्पनीले डेभलपर कन्फ्रेन्सको क्रमा घोषणा गरेको छ।
हुवावे आफैले विकास गरेको हार्मोनी अपरेटिङ सिस्टममा एप्लिकेशन आकर्षित गर्नका लागि प्रयास गरिरहेको छ। पछिल्लो समय एपहरु बढ्दै गएपनि अहिलेसम्म जम्मा ८६ हजारमात्र छन्। एन्ड्रोइडको गुगल प्ले र एप्पलको एपस्टोरमा लाखौ एपहरु छन्। हुवावेको अहिलेको मुख्य ध्यान डेभलपरहरुलाई आकर्षित गरेर इकोसिस्टम विकास गर्नुमा रहेको छ।
उक्त कन्फ्रेन्समा हुवावेले हार्मोनीको दोस्रो पुस्ताको भर्सन सार्वजनिक गरेको थियो। मोबाइलका लागि भने उसले यो भर्सन यही वर्षको अन्त्यसम्म डेभलपरहरुलाई उपलब्ध गराउने घोषणा गरेको छ।
अमेरिकाले कालोसूचीमा राखेपछि हुवावेसँग गुगलको व्यावसायिक सम्बन्ध तोडिएको छ। पछिल्लो पटक अस्थायी लाइसेन्स पनि नविकरण नभएपछि एन्ड्रोइडमा आधारित फोन बनाइरहेको हुवावेले आफ्नै आफ्नै ओएस बनाइरहेको छ।
हार्मोनी सार्वजनिक गर्दा यसलाई अन्य एप्लीकेशनहरुमामात्र प्रयोग गर्ने हुवावेको तयारी थियो। पछिल्लो समय गुगलसँगको सम्बन्ध बिग्रिएपछि कम्पनीले आफ्नै ओएसमा आधारित स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ।