एप्पलले हरेक वर्ष सेप्टेम्बर १५ मा नयाँ उत्पादनहरू सार्वजनिक गर्छ। यसमा अधिकांशको आशा हुन्छ- नयाँ आइफोन।
यसपालि आउने आशा गरिएको नयाँ मोडल आइफोन-१२ हो। तर कोरोना महामारीका कारण यो सेप्टेम्बरमा नयाँ आइफोन देख्न पाइने छैन। यसका लागि केही समय कुर्नुपर्ने कम्पनीले बताएको छ।
सूचना-प्रविधि सम्बन्धी लेख्ने वेबसाइट '९ टु ५ म्याक' का अनुसार कोरोनाका कारण यसपालि एप्पलको कार्यक्रम भर्चुअल माध्यमबाट हुनेछ। कार्यक्रम एप्पलको वेबसाइट, अफिसियल युट्युब च्यानल र एप्पल टिभीबाट लाइभ हुनेछ। कार्यक्रम नेपाली समयअनुसार बिहान सवा दस बजेदेखि सुरू हुने कम्पनीले बताएको छ।
कार्यक्रममा नयाँ एप्पल वाच, आइप्याड, आइओएस-१४, एयरट्याग्स, एप्पल टिभी र म्याकबुक आदि सार्वजनिक हुने भएको छ। आइफोन-१२ भने अक्टोबरमा सार्वजनिक हुने अपेक्षा लिइएको छ '९ टु म्याक'ले जनाएको छ।
एप्पल आइप्याडः
सेप्टेम्बर १५ मा सार्वजनिक गरिने आइप्याड नयाँ डिजाइनको हुनेछ। यसको लुक्स आइप्याड-प्रोको जस्तो देखिने कम्पनीले बताएको छ। यसको सुरक्षाका लागि फेस आइडीको साटो प्याडको छेउमा टचआइडी थिच्नुपर्ने हुन्छ। कतिपयले सन् २०२१ मा आउने आइफोनमा पनि यस्तै फिचर्स जडान गर्न सुझाव दिएका छन्।
एप्पल वाच- ६ सिरिज
सोही दिन एप्पल वाच-६ सिरिज पनि सार्वजनिक हुनेछ। यसले रगतमा अक्सिजन स्तर कति छ भन्ने पत्ता लगाउने कम्पनीले जनाएको छ। यसमा इलेक्ट्रोकार्डियोग्राम (हार्टविट रेकर्डर)मा पनि सुधार गरिएको कम्पनीले बताएको छ।
सस्तो एप्पल वाच
वाच-६ सिरिजसँगै एप्पलले लो–इन्ड वाच पनि घोषणा गर्नेछ। जसलाई वाच-३ मा प्रतिस्थापन गर्न लागिएको हो। हाल वाच-६ सिरिज १ सय ९९ डलरबाट उपलब्ध छ। यसबारे विस्तृत जानकारी उपलब्ध छैन।
आइओएस-१४ को घोषणा
एप्पलले सोही दिन आइओएस-१४, वाचओएस-७, आइप्याड ओएस-१४ र टिभी ओएस-१४ बारे विस्तृत जानकारी दिने बताएको छ। यसबारे यसअघि डब्लुडब्लुडिसी-२०२०, जुनमा भएको कार्यक्रममै बताइए पनि सेप्टेम्बर १५ मा यी सामग्रीको विशेषताबारे थप जानकारी दिइने भएको हो।
अपडेटेड आइओएस-१४.१ भने आइफोन-१२ सिरिजसँगै सार्वजनिक गरिने भएको छ। एप्पलले हालै आइओएस-१४ बेटा ८ विकासकर्ता र बेटा प्रयोगकर्तालाई लक्षित गरी सार्वजनिक गर्यो। अब उक्त सफ्टवेयरको स्थिर भर्सन चाँडै ल्याइने योजना कम्पनीको छ।
न्यू एप्पल टिभी
एप्पल टिभी र सिरी रिमोट पनि ल्याउने भएको छ।
एप्पल स्टुडियो
एप्पलले हाल केही समयका लागि ‘एप्पल स्टुडियो ओभर–इएर हेडफोन’ पनि विकास गरिरहेको छ। यसको मूल्य करिब ३ सय ४९ डलर अनुमान छ