आइफोन निर्माता कम्पनी एप्पलले यो वर्षको वार्षिक समारोह आइफोन बिना नै आयोजना गरेको छ।
प्रत्येक वर्ष विशेष समारोह आयोजना गरेर आइफोनका विभिन्न मोडल सार्वजनिक गर्दै आएको अमेरिकी कम्पनीले यो वर्ष भने आफूलाई एप्पल वाच, आइप्याड र बन्डल सेवामै सिमित राखेको छ।
इभेन्ट अघि नै फाइभजी आइफोन आउने हल्ला चलेपनि कम्पनीले सार्वजनिक गर्न भने सकेन। भर्चुअल माध्यमबाट सार्वजनिक भएका एप्पलका नयाँ उत्पादनहरु यसप्रकार छन्:
एप्पल वाच सिरिज सिक्स
एप्पलको फ्ल्यागशिप वेयरेवल डिभाइसमा दुई मोडल सार्वजनिक गरेको छ। सिक्स्थ जेनेरेशनका यस्ता डिभाइसलाई कम्पनीले कोभिड १९ पछिको अवस्थालाई ध्यान दिंदै अत्याधुनिक प्रविधिको प्रयोगसहित ल्याएको जानकारी दिएको छ।
उत्कृष्ट डिजाइन तथा आधुनिक प्रविधिको प्रयोगबाट एप्पल वाच ल्याइएको भर्चुअल इभेन्टमा एप्पलका सिइओ टिम कुकले जानकारी दिएका छन्।
रगतमा अक्सिजको लेभल मनिटर गर्न, हात धुने प्रविधिक तथा घरेलु व्यायामलाई सघाउने फिचर्ससहित एप्पल वाच ल्याइएको कुकले जानकारी दिएका छन्।
एप्पलले वाच सिक्सको तल्लो भागमा एलइडी लाइट तथा फोटो सेन्सर राखिएको छ जसबाट घडी पहिरिने व्यक्तीको रगतमा अक्सिजनको मात्रा थाहा पाउन सकिने छ। पृथ्वीको उचाइअनुसार घटबढ हुनसक्ने त्यस्तो अक्सिजनको तहबारे यसले अपडेट गराइराख्ने कम्पनीले दाबी गरेको छ।
तर यसरी राखिएको यो फिचर्सलाई कसैले पनि मेडिकल प्रयोजनका लागि प्रयोग गर्न नहुने कम्पनीले बताएको छ। प्रयोगकर्ताले आफ्नो जानकारी तथा डाक्टरसँगको परामर्श गर्नका लागिमात्र यसको प्रयोग गर्नुपर्ने बताएको छ।
त्यस्तै एप्पल वाच सिरिज सिक्समा यसअघि नै घोषणा गरिएको हात धुँदा डिटेक्ट गर्ने प्रविधिको पनि प्रयोग गरिएको छ।
यसको मूल्य ३९९ देखि ४९९ अमेरिकी डलरसम्म रहेको कम्पनीले जानकारी दिएको छ।
एप्पल वाच एसई
एप्पलले बजेट सेग्मेन्टको वाचका रुपमा ल्याएको यसमा ब्लड अक्सिजनको लेभल मापन गर्न मिल्ने सुविधा छैन। सस्तो भर्सनको यो घडीमा सिमित सुविधा छन् सिरिज सिक्सको तुलनामा।
यसको मूल्य २७९ अमेरिकी डलरदेखि सुरू हुनेछ। वाचओएसको पछिल्लो भर्सन प्रयोग भएको यसमा फोन कल,म्यासेज लगायतका मोशन सेन्सनर सुविधा रहेका छन्। त्यस्तै अहिले समित देश तथा क्षेत्रका लागि ल्याइएको परिवार मनिटरिङ टुल्स पनि समावेश गरिएको छ।
यही वर्षदेखि एप्पलले वाचका लागि लागि युएसबी एडप्टर हटाइदिएको छ।
नयाँ आइप्याड
एप्पलले नयाँ आइप्याडको पनि घोषणा गरेको छ। एकदिनको ब्याट्री लाइफ, द्रुत ग्राफिक्स, सुधारिएको क्यामेरासहित नयाँ आइप्याड ल्याइएको कम्पनीले जानकारी गराएको छ। आठौं जेनेरेशनको आइप्याडमा 'ए ट्वेल्भ वायोनिक चिप'को प्रयोग गरिएको छ।
१०.२ इन्चको डिस्प्ले भएको यो नयाँ आइप्याडमा आइप्याडओएस १४ सहित आएको छ। यसमा एप्पल पेन्सिल पनि रहेको छ। नयाँ आइप्याडको मुल्य ३२९ अमेरिकी डलरदेखि सुरु हुने छ।
एप्पलले यो आइप्याड अहिले भएका अन्य ल्यापटपको तुलनामा ३ गुणा द्रुत, एन्ड्रोइड ट्याबलेटको तुलनामा ४ गुणा र गुगल क्रोमबुकको तुलनामा ६ गुणा द्रुत भएको दाबी गरेको छ।
आइप्याड एयर
एप्पलले आठौं पुस्ताको आइप्याड प्रोका रुपमा आइप्याड एयर ल्याएको छ। एप्पलका सिइओ कुकले पूरै डिजाइन परिवर्तन गरेर यो ल्याइएको बताएका छन्।
१०.९ इन्चको स्क्रिन भएको यसमा टच आइडी सेन्सर रहेको छ। जसबाट फिंगरप्रिन्ट अनलक गर्न सकिने छ। 'ए फोर्टिन' सिलिकन चिप प्रयोग गरिएको यसमा अधिकांस फिचर्सहरु सुधार गरिएको छ।
पाँच विभिन्न कलरमा उपलब्ध हुने आइप्याड एयरको मूल्य ५९९ अमेरिकी डलरबाट सुरु हुने छ। आगामी महिनादेखिमात्र यो बजारमा उपलब्ध हुने छ।
आइप्याडले युनिभर्सल युएसबी-सी एडप्टर सपोर्ट गर्ने छ। अन्य चार्जरबाट पनि चार्ज गर्नसकिने भएको छ।
एप्पल वन
एप्पलले बन्डलिङ सेवा पनि सार्वजनिक गरेको छ। कम्पनीले एप्पल वनका नामबाट ल्याएको यो शुल्कसहितको सेवामा म्युजिक,अर्किड, टिभीसँगै क्लाउड लगायतका सेवाका लागि मासिक १४.९५ डलर शुल्क तोकिएको छ। यही सेवा ६ जनासम्मको परिवारका लागि १९.९५ डलर तोकिएको छ। फिटनेस प्लससहितको सेवाका लागि भने २९ डलर तोकिएको छ। यद्यपी यो सिमित देशहरुमा मात्र उपलब्ध हुने छ।
यस्ता बन्डलिङ सेवाको पहुँच एप्पलका वाच, आइफोन,आइप्याड तथा टिभीबाट गर्न सकिने छ।