नेपाल राष्ट्र बैंकले नेपालमा रहेको कम्पनी तथा संस्थाले आफ्नो दक्षता तथा विज्ञपता बापतको विदेशी मुद्रा स्वदेश ल्याउन सहज पारिदिएको छ।
अनलाइन तथा इकमर्श कारोबारको रकमलाई स्वदेश ल्याउनका लागि सजिलो बनाउँदै केन्द्रीय बैंकले विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तरण गर्न सकिने व्यवस्था गरेको हो।
यो व्यवस्थासँगै अबदेखि नेपालमा रहेर सफ्टवेयर लगायत बनाएर विदेशबाट रकम भित्र्याउनेहरुलाई सजिलो हुने भएको छ। यसअघि यस्तो व्यवस्था नहुँदा नेपालमा रहेका सफ्टवेयरमा काम गर्ने कम्पनीहरुले विभिन्न प्रयोजन तथा स्रोत देखाएर रकम ल्याउने गरेका थिए।
नेपालमा रहेका अधिकांस कम्पनीका विदेशी साझेदार संस्था हुने भएकाले उनीहरुले यहाँ गरेको कामको भुक्तानी विदेशमै रहेको कम्पनीले बुझेर आवश्यक रकममात्र यहाँ ल्याउने गरेका थिए।
पछिल्लो समय नेपालमा सूचना प्रविधिको क्षेत्रमा गतिविधि बढ्दै गएपनि नेपालमा विदेशी मुद्रा ल्याउनका लागि वस्तु निर्यात जस्तै व्यवाहर गर्दा मार परेको व्यवसायीहरुले बताउँदै आएका थिए।
त्यस्तै नेपालबाट अनलाइन माध्यमबाट बिक्री गरिएको वस्तु तथा अन्य सेवाको भुक्तानी पनि अनलाइनमाध्यमबाट लिन सकिने भएको छ। यो व्यवस्थाबाट नेपालको वस्तु निर्यातलाई केही भएपनि सहज हुने छ।
यसअघि यसरी अनलाइन भुक्तानीका लागि कठिन थियो।