अचेल कसैलाई रमाइलो मेसेज गर्नु परेमा हामी शब्द 'मेसेज' मात्र पठाउँदैनौ। मेसेजसँगै जोडिन्छन् इमोजीहरु। पछिल्लो समय शब्द मेसेज भन्दा इमोजी बढी चल्तीमा छ। आफूलाई लागेको कुरा वा भाव हामी इमोजीमार्फत पोख्छौं।
शब्दमा भन्दा इमोजीमा रमाउनेका लागि खुशीको खबर छ।
इमोजी मापदण्ड तय गर्ने तथा निरीक्षण गर्ने गैर नाफामूलक संस्था युनिकोड ‘कन्सर्टियम’का अनुसार किबोर्डमा अब नयाँ इमोजीहरु थपिँदैछ। ‘कन्सर्टियम’ले एकैपटक २ सय बढी नयाँ इमोजी सार्वजनिक गर्दैछ।
कन्सर्टियमले गत अप्रिलमा कोभिड–१९ का कारण सन् २०२२ सम्म कुनै पनि नयाँ इमोजी सार्वजनिक नहुने बताएको थियो।
यद्यपि अब सार्वजनिक हुन लागेका नयाँ इमोजी सामान्य रहेको कम्पनीले बताएको छ।
उक्त इमोजी प्रायले यस वर्षको समयलाई झल्काउन खोजिएको छ। यी मध्ये एउटा मुटुमा पट्टी लगाएको इमोजी छ। अर्को मुटुमा आगो बलेको इमोजी छ। जसको प्रयोगमा मुख्यत इष्र्या र दुःख व्यक्त गर्न सकिन्छ।
अहिले किबोर्डमा भइरहेको इमोजी पहेलो रङ्गमा मात्र मान्छेको चित्र वा जोडी देख्न सकिन्छ। अब आउने नयाँ रङ्गका इमोजीले भने अन्तरजातीय सम्बन्धहरूको चित्रण गर्नेछ।
कम्पनीकाअनुसार यी नयाँ इमोजी सन् २०२१ को जनवरीदेखि अक्टुबरसम्म सार्वजनिक हुनेछन्। यी सबै समावेश र थप इमोजीको पूर्ण प्याकेजको इमोजी १४.० भने सन् २०२२ मा सार्वजनिक हुने बताइएको छ।