अमेरिकी कम्पनी फेसबुकले आफ्नो पहिलो स्मार्ट चस्मा ल्याउने बताएको छ। केही दिनअघि आयोजना गरेको एक कार्यक्रममा फेसबुकले चर्चित इटालीयन ब्रान्ड रेबानसँगको साझेदारीमा अर्को वर्ष नयाँ स्मार्ट चस्मा बनाउने घोषणा गरेको हो।
आफ्नो पहिलो चस्माको लागि फेसबुकले रेबानको कम्पनी ‘लक्सोटिका’को साथ मिलेर काम गरिरहेको छ।
‘लक्सोटिकाको टिमसँगको कुराकानी र काम देखेपछि उनीहरुले राम्रो टेक्नोलोजीबाट उत्कृष्ट चस्मा बनाउन मद्दत गर्ने भरोसा छ,’ फेसबुकका सञ्चालक मार्क जुकर्बकले कार्यक्रममा भने, ‘हामीसँग अहिले कुनै उत्पादन छैन तर अर्को वर्ष आउने स्मार्ट चस्माको लागि उत्साहित छौँ।’
उनले थपे, ‘रेबान ब्रान्डले फेसन र टेक्नोलोजीलाई सँगै जोड्नेछ, र मानिसहरु अझ सहज तरिकाले एकअर्कालाई सम्पर्क गर्न सक्नेछन्।’
भारतीय मिडिया 'द इन्डियन एक्सप्रेस'का अनुसार चस्मामा डिस्प्ले हुने छैन, तर 'भ्वाइस असिस्टेन्ट'को सुविधा भने हुनेछ। यो चस्मा स्मार्टफोनमा जोडेर चलाउन सकिने छ।
फेसबुकले आफ्नो पहिलो स्मार्ट चस्मालाई दिने नाम र मूल्यबारे जानकारी खुलाएको छैन।