अमेरिकी बहुराष्ट्रिय रिटेल कर्पोरेसन वालमार्टले कोभिड–१९ किट वितरणका लागि नयाँ प्रविधि भित्र्याएको छ।
वालमार्टले अमेरिका, लस भेगसको उत्तरी क्षेत्रमा बसोबास गर्नेका लागि ड्रोनमार्फत् कोभिड-किट वितरण गर्ने भएको हो।
वालमार्टले मंगलबार 'पाइलट ड्रोन डेलिभरी कार्यक्रम' सार्वजनिक गरी जानकारी दिएको हो।
सिएनएनका अनुसार पाइलट ड्रोनले लस भेगसको उत्तरी क्षेत्रमा रहेका स्टोरबाट एक माइल रेडियसमा एक्लै बस्ने व्यक्तिका लागि यो सेवा सुरू गरेको हो। यद्यपि उक्त सेवा पानी परेको मौसममा सम्भव हुने छैन।
वालमार्टले ड्रोनअप र क्वेस्ट डाइग्नोस्टिकसँग सहकार्यमा यो कार्यक्रम सुरू गरेको हो। ड्रोन अपले सेवाग्राहीका लागि सन्देश तयार पार्छ भने क्वेस्ट डाइग्नोस्टिकले सामग्री वितरणका लागि उपलब्ध गराउने भनिएको छ।
पाँच मिनेटभन्दा कम समयमा सामग्री डेलिभर हुने स्थान छ भने वालमार्टले निःशुल्क सेवा पुर्याउने यसको ब्लगमा उल्लेख छ।
कुनै पनि सेवाग्राहीले आफ्नो टेस्ट किट पाएपछि स्वाबको नमूना परीक्षणका लागि फेडएक्समार्फत् क्वेस्ट ल्याबमा पठाउन सक्छन्। सेवाग्राहीको परीक्षण नतिजा डिजिटल विधिमार्फत् २ दिनभित्र जानकारी गराइन्छ।
यसप्रकारले कुनै पनि व्यक्तिको कोरोना परीक्षण एक–अर्काको सम्पर्कमा नआइ गर्न सम्भव हुने बताइएको छ।
‘यो सेवाले सम्पर्कविहीन कोरोना परीक्षणमा टेवा पुर्याउने र भविष्यमा वालमार्टका प्राविधिक विकास अझ अगाडि बढाउँछ भन्ने आशा राखेका छौं,’ वालमार्टका उपभोक्ता उत्पादनहरूका वरिष्ठ उपाध्यक्ष टम वार्डले वालमार्टको ब्लगमा लेखेका छन्।
वालमार्टको यो ‘कोभिड –१९ पाइलट ड्रोन डेलिभरी कार्यक्रम’ कम्पनीको एक परीक्षण कार्यक्रम हो।