चेक रिपब्लिक देशकी एक सानी बच्चीले गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा रहेका ७ खराब एप पत्ता लगाउन सुरक्षा अनुसन्धानकर्तालाई सघाएकी छन्।
मोबाइलमा वालपेपर, संगीत र अन्य मनोरञ्जनको विशेषता देखाउने यी एप ‘एडवेयर एप’ थिए। ‘एडवेयर एप’ले मोबाइलमा अनावश्यक विज्ञापन देखाउँछ र डाउनलोड गरेपछि मोबाइलबाट हटाउन समेत समस्या हुन्छ।
एक सानी बच्चीले टिकटकमा प्रचार भइरहेको त्यस्तै एउटा खराब एप पत्ता लगाइन्। त्यसपछि सुरक्षा अनुसन्धानकर्ताहरुले उनकै सहयोगमा अन्य छ खराब एप हटाएका थिए।
यी एपहरु विशेषगरी इन्स्टाग्राम र टिकटक जस्ता समाजिक सञ्जालमा बालबालिकालाई लक्षित गरी प्रचार भएको थियो। त्यहीँबाट सानी बच्चीले थाहा पाएर चेक रिपब्लिकको ‘अवास्टको बि सेफ’ नामक प्रोजेक्टलाई जानकारी गराएकी थिइन्। ‘अवास्ट’ले बालबालिकालाई अनलाइन प्लेटफर्ममा सुरक्षित हुनेबारे शिक्षा दिइरहेको छ।
अवास्टले जानकारी पाएपछि एपको जाँच गरेको थियो। यी एपले मोबाइलमा विज्ञापनहरु देखाइरहने र प्रयोगकर्ताले हटाउन खोजे दुईदेखि दश डलरसम्म शूल्क लिने गरेको थाहा पाएको थियो।
२४ लाख पटक डाउनलोड भएका यी खराब एपका निर्माताहरुले पाँच लाख बढी अमेरिकी डलर कमाइसकेको सेन्सर टावरको रिर्पोटले देखाएको छ।
विज्ञापनहरु एपको बाहिर देखाइ मुख्य एप भने लुकाइएको अवास्टले जनाएको छ।
यस्ता एप डाउनलोड गरेपछि मोबाइलमा कहाँ बसेको छ पत्ता लगाउन सकिँदैन। एप नचलाए पनि मोबाइलमा अनावश्यक विज्ञापन देखाइरहन्छ।
भारतीय अखबार हिन्दुस्तान टेकको अनुसार टिकटक र इन्स्टाग्राममा लाखौँ फलोअर्स भएका एकाउन्टले यी एप डाउनलोड गर्न प्रचार गरिरहेको थियो।
‘साना बालबालिका प्राय यस्ता एपको खतराबारे सचेत नभएर त्यसको सिकार बन्न पुग्छन्’, अवास्टका एक थ्रेट विश्लेषकले भने ‘एउटी सानी बच्चीले त्यस्तो खतराबाट सचेत रहन सघाएकी छन्, उनको यो काम प्रशंसनीय छ।
सुरक्षा अनुसन्धानकर्ताले यस्ता एपबाट सचेत रहन गुगलाई जानकारी गराएको छ।
रिर्पोट अनुसार गुगलले ती सात खराब एपहरु हटाइसकेको छ। तर एप्पलले भने अझै प्रतिक्रिया दिन बाँकी छ।