नेपाल टेलिकमले विद्यालय र विद्यार्थीलाई ‘पाठशाला कज (कोल्स्ड युजर ग्रुप सिम’ निःशुल्क दिने भएको छ।
टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाई सम्पर्कलाई सहज बनाउन लागेको हो।
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम टेलिकमले सस्तो दरमा सेवाहरु दिने बताएको छ।
जसअनुसार प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको कोल्स्ड युजर ग्रुप (कज) मा आबद्ध गरिने छ।
मासिक ९९ रुपैयाँमा क्लोज्ड ग्रुपभित्र असिमित कुराकानी गर्न सकिने भ्वाइस सेवा, शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट चलाउन ५ जिबी डाटा सेवा र बल्क एसएमएस सुविधा छ।
सो प्रिपेड सिमकार्डबाट स्रोत विकास केन्द्रको वेब पोर्टल निशुल्क चलाउन र शैक्षिक प्रयोजनका लागि बल्क एसएमएस पठाउन पनि सकिन्छ।
कर्पोरेट युजर ग्रुप बनाउनका लागि सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएका प्रत्येक घरधुरीलाई एउटा सिमकार्ड दिइनेछ।
सो विद्यालयका प्रत्येक शिक्षकको सिमकार्डको फोन नम्बर संकलन गर्ने, प्रत्येक विद्यालयका यी फोन नम्बरलाई कज सेवामा आवद्ध गराइन्छ।
यो सेवा वापतको शुल्क नेपाल सरकार, प्रयोगकर्ता र सेवा प्रदायकले साझेदारीमा व्यहोर्ने व्यवस्था गरिएको कम्पनीको भनाइ छ।
कम्पनीकाअनुसार यो सेवाअन्तर्गत प्रत्येक विद्यार्थी र शिक्षकल सिमकार्डका लागि नागरिकता र परिचयपत्रको फोटोकपी, अभिभावकको नागरिकताको फोटोकपी र एकप्रति फोटो चाहिन्छ।
विद्यार्थीले सिमकार्ड उनीहरुकै वा अभिभावकको नाममा पनि लिन सक्नेछन्।