अमेरिकन ब्यूटी कम्पनी ‘एस्टी लाउडर’ले आफ्नो नयाँ स्किनकेयर उत्पादन अन्तरिक्षमा पठाउने भएको छ।
नयाँ उत्पादनको फोटो शुटको लागि उक्त कम्पनीले यस्तो ठूलाे कदम चाल्न लागेको हो।
कम्पनीले आफ्ना ‘स्किन सिरम’का दश बोतल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा उडान गर्ने तयारी गरिरहेको छ। जसको लागि कम्पनीले नासालाई करिब एक करोड भन्दा बढी खर्च गरिरहेको छ।
भारतीय अखबार हिन्दुस्तान टेककोअनुसार ती उत्पादन अन्तरिक्षमा पुगेपछि अन्तरिक्ष यात्रीले ‘कपोला कन्ट्रोल टावर’मा फोटो लिनेछन्। यी फोटो पछि सामाजिक सञ्जालमा राखिने छ।
अन्तरिक्षमा पुगेको दश बोतल मध्ये एउटा बोतललाई लिलामीमा समेत राख्ने बताइएको छ।
कोभिड–१९काे विश्वव्यापी महामारीले अहिले कम्पनीहरु आफ्नो ब्रान्ड रचनात्मक तरिकाले बजारमा ल्याउन लागेका छन्।
धेरै ठूला कम्पनीले पुरानो शैलीको विज्ञापनमा कम खर्च गरिरहेका छन् र ग्राहकको ध्यान तान्न नयाँ तरिका खोजिरहेका छन्।
यसरी नै ‘एस्टी लाउडर’ अन्तरिक्षमा जाने पहिलो ब्यूटी ब्रान्ड बन्न सफल भएको हो।
रिर्पोटको अनुसार ‘नर्थ ग्रुम्मान एन्टारेस’ नामक रकेटले कम्पनीको उत्पादन अन्तरिक्षमा लानेछ। यो रकेट मगंलबार राती भर्जिनियाको वालप्स टापुबाट उडान गर्ने बताइएको छ।
यससँगै नासाले आफ्नो उपकरणको प्रयोग विस्तार गर्दै अन्तरिक्ष स्टेशनमा सामान्य नागरिकहरुको भ्रमण बढाउने आशा गरेको नासाको स्पेसलाइट विकासको वाणिज्य निर्देशक फिल म्याकलिस्टरले बताए।