एप्पलले अबका केही दिनमै आइफोन १२ सार्वजनिक गर्ने भएको छ। चार नयाँ मोडलमा विभिन्न फिचर हुने यो फोन कहिले आउला भनेर आइफोन पारखीहरू प्रतीक्षामा छन्।
तर यो प्रतीक्षा नमेटिँदै पारखीमाझ आइफोन १३ को चर्चा सुरू भएको विभिन्न सञ्चारमाध्यमले लेखेका छन्।
टेक हिन्दुस्तान टाइम्सका अनुसार आइफोन १२ सिरिजका स्मार्टफोन बजारमा आउने बित्तिकै एप्पलले आइफोन १३ का नयाँ मोडल र त्यसका फिचर सार्वजनिक गर्नेछ। यसपालि कोरोनाका कारण सेप्टेम्बरमै आउनुपर्ने फोन नआए पनि अर्को साल समयमै आउने पनि आशा गरिएको छ।
टाइम्सका अनुसार एप्पलले आइफोन १३ मा पनि १२ कै जस्ता फिचर समावेश गर्नेछ। अमेरिकाको विश्वव्यापी बजार अनुसन्धान कम्पनी ‘डिस्प्ले सप्लाइ चेन कन्सलटेन्ट’ का संस्थापक रोस योंगको अनुसार एप्पलले सन् २०२१ मा चार नयाँ मोडल ल्याउन सक्ने छ।
-५.४२ इन्चको आइफोन १३
-६.०६ इन्चको आइफोन १३
-६.०६ इन्चको आइफोन १३ प्रो
- ६.६७ इन्चको आइफोन प्रो म्याक्स।
रिर्पोटका अनुसार आइफोन १३ फाइभ-जी कनेक्टिभिटी फिचरका साथ आउनेछ। साथै यी सबै मोडलमा फेसआइडी सुविधा हुनेछ।
आइफोन १३ प्रो र प्रो म्याक्स मोडलमा तीन वटा क्यामरा हुने रोस योंगले बताएका छन्। यसमा भएको फिचरबाट प्रयोगकर्ताले अँध्यारो ठाउँमा पनि राम्रो फोटो खिच्न सक्नेछन्।
५.४२ इन्च र ६.०६ इन्चको आइफोन १३ मा भने दुइटा क्यामरा हुनेछ।
हिन्दुस्तान टाइम्सका अनुसार सन् २०२२ मा आइफोन एसइ-३ आउन सक्ने सम्भावना छ। नयाँ एसइ ६.०६ इन्चको डिस्प्ले र दुइटा क्यामरामा आउने अनुमान छ।